महालेखामा ४ वर्षदेखि कब्जा जमाएर बसेका बिचौलिया कर्मचारी

काठमाडौं। मापदण्ड मिच्ने र मनपरी तरिकाले कर्मचारी सरूवा गर्नेमा ‘रेकर्ड’ कायम गरेको महालेखा नियन्त्रक कार्यालय बदनाम संस्था बन्न पुगेको छ। महालेखा परीक्षक विनोदप्रकाश सिंह केही बिचौलिया कर्मचारीको मतियार बन्दा उक्त कार्यालय नै बदनाम बनेको हो। सिंहले आफैले जारी गरेको मापदण्ड कुल्चेर लेखाका उपसचिव सरूवा गरेको तथ्य सार्वजनिक भइसकेको छ। लेखा अधिकृतको सरूवामा पनि त्यस्तै अवस्था देखिन्छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा हुँदा नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रविधि घोटालामा पटकपटक अख्तियार पुगेर बयान दिएका सिंहले लेखाको सरूवामा पनि बयान दिनुपर्ने अवस्था आउन सक्छ। अवधि पुगिसके र मापदण्डविपरीत (क) वर्गको कार्यालयबाट (क) वर्ग कै कार्यलयमा लेखाका उपसचिव सरूवा गरेका सिंह ‘ओभरसाइट एजेन्सी’को निगरानीमा पर्न थालेका छन्।
परिवारसहित मुस्ताङ घुमेर आएपछि लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ लाई स्वार्थ समूह र बिचौलिया कर्मचारीको डिजाइनमा फेरबदल गरेका सिंहले सरूवामा पनि उस्तै शैली अपनाएका छन्। मुस्ताङ घुमेर आएपछि मापदण्डमा चलखेल गरेका उनले दोलखा र गोरखा घुमेपछि सरूवामा मनपरी गरेका हुन्। त्यो कुरा तथ्यले पुष्टि गरिसकेको छ।
महालेखा नियन्त्रकको कार्यालयमा अहिले ३ जना कर्मचारी ४ वर्षदेखि डेरा जमाएर बसेका छन्। कर्मचारी प्रशासन शाखाका प्रमुख निरज केसी, स्टोर किपर हेमचन्द्र कार्की र आन्तरिक व्यवस्थापनतिरका लेखापाल दिपेश चौलागाईं। निरज महालेखा नियन्त्रक कार्यालयमा डेरा जमाएर बसेको झन्डै ४ वर्ष हुन लागेको छ। हेमचन्द्र र दिपेश त झन्डै ५ वर्षदेखि महालेखा नियन्त्रक कार्यालय कब्जा जमाएर बसेका छन्। महालेखा नियन्त्रक निकट व्यक्तिहरूका अनुसार सिंहलाई मुस्ताङ, दोलखा, गोरखा घुमाएर ल्याउने जाँचोपाँचो निरज र हेमचन्द्रले मिलाएका हुन्। महालेखा नियन्त्रक सिंहको सुशासन तिनै बिचौलिया कर्मचारीको कब्जामा पुगेको छ। बिचौलिया कर्मचारीहरूले लेखाको सरूवामा व्यापक आर्थिक चलखेल गरेको चर्चा सुनिन्छ।
महालेखा नियन्त्रक कार्यालयको कर्मचारी प्रशासन हेर्ने महाशाखा प्रमुख सहमहालेखा नियन्त्रक नारायणप्रसाद सापकोटा हुँदा मापदण्ड जारी गरेर कडा रूपमा लागू गर्ने तयारी गरेका थिए। निरज, हेमचन्द्र, दिपेशलगायत अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने तयारी गरेका थिए। महालेखा लामो समय राख्न नसकिने अडान सापकोटाले राखेपछि त्यो बेला हेमचन्द्रले डोली र दिपेशले ललितपुरको पुल सेक्टर जान खोजेका थिए। महालेखामै राम्रो अवसर लिएर बसेकालाई फेरि पनि आकर्षक अड्डा पठाउन नहुने उनको अडान थियो। महालेखामा थिति बसाल्न खोजेका थिए। सापकोटा त्यहाँ ररिरहे आफ्नो अभिष्ट पूरा नहुने देखेपछि महालेखाका तरमारा बिचौलिया कर्मचारीले उनलाई त्यहाँबाट सरुवा गरेर भोज खाए। अहिले मोज गरिरहेका छन्। उनीहरूको मेजमान र मोजमा महालेखा नियन्त्रक पनि रमाइरहेका हुन्। कार्की अहिले खोप उत्पादन केन्द्र जाने कसरतमा छन्।
महालेखाको सरुवा प्रणाालीलाई आफ्नो कब्जामा राखेर सधैं आफ्नो स्वार्थसिद्ध गर्न खप्पिस उपसचिव निरज परराष्ट्र वा सडक विभाग ताकेर बसिरहेका छन्। सापकोटा त्यहाँ रहिरहेको भए उनको मनपरीतन्त्र दुईदिनको ‘घामछाँया’ मात्र हुने थियो। सापकोटा त्यहाँबाट निर्वाचन आयोगमा सरुवा भएपछि सिंहलाई सेटिङ मिलाएर मापदण्ड फेर्न सफल उनी सबै काम सकेर अमेरिका घुम्न निस्केका छन्। निरजले सबै सरुवाको प्रपन्च मिलाएर अमेरिका हिँडेको महालेखा स्रोत बताउँछ। अवधि पुगेपनि उनको सरूवा नहुनुले त्यो कुरा पुष्टि हुन्छ। महालेखा नियन्त्रक कार्यालयको वेथितिका योजनाकार निरज आफ्नो स्वार्थ अनुकूल सरूवाको काम फत्ते भएपछि अहिले अमेरिका मस्त रमाइरहेका छन्। निरजपछि महालेखा नियन्त्रक सिंह पनि थाइल्याण्ड घुम्न निस्कन लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सुशासनको अभियानलाई नै चुनौती दिने गरी महालेखा नियन्त्रक कार्यालयमा काम हुन थालेको छ। उनको सुशासन अभियान सफल पार्ने हो भने त्यसको सुरूवात महालेखा नियन्त्रक कार्यालयबाट हुनुपर्ने देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #दिपेश चौलागाई, #निरज केसी, #महालेखा नियन्त्रक कार्यालय, #हेमचन्द्र कार्की
तपाईको प्रतिक्रिया दिनुहोस