बिचौलिया कर्मचारीको सेटिङमा लेखा अधिकृतको सरूवा गर्दा मापदण्डको हुर्मत लिइयो


काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले लेखा अधिकृतको सरुवा गर्दा सरुवा मापदण्डको हुर्मत लिएको पाइएको छ।  मापदण्ड कुल्चेर लेखा उपसचिवको सरुवा गरेका महालेखा नियन्त्रक विनोदप्रकाश सिंहले लेखा अधिकृतको सरुवा गर्दा उक्त मापदण्डको हुर्मत नै लिएको पाइएको हो।

लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ को अस्तित्वमाथि नै प्रश्न उठ्ने गरी लेखा अधिकृतहरूलाई (क) वर्गका कार्यालयबाट (क) वर्ग कै कार्यालयमा सरुवा गरिएको छ। यसले उक्त मापदण्डको मात्र होइन महालेखा नियन्त्रक सिंहको औचित्यमाथि समेत प्रश्न उठ्ने देखिन्छ। महालेखा नियन्त्रक कार्यालयले गत शुक्रबार गरेको लेखा अधिकृतको सरुवामा (क) बाट (क) वर्ग कै कार्यालयमा सरुवा गरिएको पाइएको छ। यो मलेनिका आफैले बनाएको मापदण्डविपरीतको कार्य हो।

लेखा अधिकृत इन्द्र बहादुर कार्कीलाई (क) वर्गको रेल विभागबाट (क) वर्ग कै सहरी विकास तथा भवन निर्माण आयोजना, धनकुटामा सरुवा गरिएको छ। (क) वर्गको कोष तथा लेखा नियन्त्रण कार्यालय, ललितपुरमा कार्यरत मदन भण्डारीलाई (क) वर्ग कै हुलाकी राजमार्ग, बाँके सरुवा गरिएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालय ललितपुर कै प्रमुख कोष नियन्त्रक गोरखबहादुर शाहीलाई (क) वर्ग कै ऊर्जा, जलस्रोत तथा जलस्रोत मन्त्रालयमा सरुवा गरेर मापदण्डको धज्जी उडाएका महालेखा नियन्त्रक सिंहले उक्त कार्यालयका लेखा अधिकृतको हकमा पनि त्यस्तै शैली अपनाएका छन्।

लेखा अधिकृत विकी झा (क) वर्गको घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रबाट (क) वर्ग कै डिभिजन सडक, नेपालगञ्ज पठाइएको छ। अशोककुमार राना (क) वर्गको डिभिजन सडक, पाटनबाट (क) वर्ग कै रेल विभागमा सरुवा ल्याइएको छ। यी केही उदाहरण मात्र हुन्। लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ को मर्ममाथि प्रहार गर्दै महालेखा नियन्त्रक सिंहले लेखा अधिकृतको सरुवा गरेका छन्। यसले महालेखा नियन्त्रक सुशासनमा एकदम कमजोर देखिएका छन्।

महालेखा नियन्त्रक कार्यालय र अख्तियार बसेर आकर्षक अड्डा

महालेखा नियन्त्रक कार्यालय र अख्तियार बसेर आकर्षक अड्डा सरुवा भएको पाइन्छ। महालेखा नियन्त्रक कार्यालयलाई ‘ट्रान्जिट’ बनाएर (क) वर्गका मालदार र आकर्षक कार्यलय सरुवा हुने घातक प्रवृत्ति देखिँदै गएको छ। यस्तो प्रवृत्तिलाई तत्काल नरोके लेखाको सरूवामा ठूलो विकृति बन्ने छ।

महालेखा नियन्त्रक कार्यालयलाई ‘ट्रान्जिट’ बनाएर (क) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला जानेमा राजिव आचार्य पर्छन्। त्यस्तै महालेखा नियन्त्रक कार्यालय (क) वर्ग कै वर्गको पर्यटन विभाग जाने अर्का लेखा अधिकृत हुन् श्यामराज जोशी। त्रिभुवन खनालले पनि महालेखा नियन्त्रक कार्यालयलाई ‘ट्रान्जिट’ बनाएर (क) वर्ग कै स्वास्थ्य सेवा विभाग पुगेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका लेखा अधिकृत सुधिरकुमार शाह (क) वर्गको सस्पेन्सन वृज डिभिजन, ललितपुर पुगेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महोत्तरीका लेखा अधिकृत प्रल्हाद भुजेल (क) वर्गको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, काठमाडौंमा सरुवा भएका छन्। अख्तियार बसेका कर्मचारी किन आकर्षक अड्डा ताक्छन् त्यो पनि खोजीको विषय हो।

अवधि नै नपुगी सरुवा

महालेखा नियन्त्रक कार्यालयबाट पर्यटन विभाग पुगेका श्यामप्रसाद जोशी अवधि नै नपुगी सरुवा हुनेमा परेका छन्। अवधिका हिसाबले पनि जोशीको सरुवामा मापदण्ड मिचेको पाइन्छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत लेखा अधिकृत डिल्ली अधिकारी एक वर्ष पनि नपुगी महालेखा नियन्त्रक कार्यालयमा फर्किएका छन्। निरज केसी कै शाखामा बसेर प्राधिकरण पुगेका डिल्ली एक वर्ष नपुग्दै मलेनिका फर्काइएका छन्। मलेनिकालाई ‘ट्रान्जिट’ बनाएर मालदार अड्डामा जाने गरी उनी एक वर्ष नपुगी फर्किएको चर्चा छ। मापदण्डको मस्यौदामा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणलाई (क) वर्गका राखिएको थियो। निरज र डिल्लीको मिलेमतोमा उक्त प्राधिकरणलाई (ख) वर्गका रखिएको तथ्य फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा भने निरज र डिल्लीको कोर टिमभित्र रहेर काम गर्ने राष्ट्रिय क्षयरोग केन्द्रका तुलसीराम बस्नेतलाई लगिएको हो।

त्यस्तै खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, काठमाडौंका लेखा अधिकृत वीर सिंह राईको पनि अवधि नै नपुगी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगाल सरुवा भएको छ। मापदण्ड मिचेर अख्तियार पठाइएका व्यक्तिको हकमा अख्तियारले के गर्छ हेर्न बाँकी छ।

स्वास्थ्यमा आएका लेखा अधिकृतहरू 

सडक विभागका लेखा अधिकृत श्रीधर भट्टराई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएका छन्। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत त्रिभुवन खनाल स्वास्थ्य सेवा विभागमा सरुवा भएका हुन्।

वातावरण विभागका कार्यरत लेखा अधिकृत रमेश कार्की राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र सरुवा भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महोत्तरीका लेखा अधिकृत प्रल्हाद भुजेल राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, काठमाडौंमा आएका हुन्। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत राजिव आचार्य राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पुगेका छन्।

त्यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयकी लेखा अधिकृत सुस्मिता शर्मा राष्ट्रिय क्षयरोग केन्द्र, भक्तपुर र वन तथा भू-संरक्षण विभागका शैलेन्द्रकुमार दुलाल परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा सरुवा भएर आएका छन्। त्यस्तै राष्ट्रिय युवा परिषद्की लेखा अधिकृत सुनिता कार्कीको चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ।

हेर्नुहोस् लेखा अधिकृतको सरूवा सूची

क्याटेगोरी : समाचार
ट्याग : #महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, #लेखा अधिकृत, #सरुवा मापदण्ड तोडमोड

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ