महालेखाका पहुँचवाला लेखापालले रोजेको आकर्षक अड्डा पाए


काठमाडौं। महालेखा नियन्त्रक विनोदप्रकाश सिंह र कर्मचारी प्रशासन शाखा प्रमुख निरज केसीलाई आफ्नो अधिन (ग्रिप) मा राख्न सफल लेखापाल (स्टोर किपर) हेमचन्द्र कार्कीले रोजेको ठाउँ  पाएका छन्। २६ जना लेखा उपसचिव, ८० जना लेखा अधिकृत र ४१३ जना लेखापाल सरुवा गर्दा यी महालेखाका कर्मचारीले विशेष भूमिका खेलेको पाइन्छ। सरूवाको सेटिङ मिलाएर निरज अमेरिका उडेका थिए भने सरूवाको काम सकाएर सिंह थाइल्याण्ड हानिएका छन्। लेखापाल हेमचन्द्रले राष्ट्रिय खोप उत्पादन प्रयोगशाला पाउन सफल भए।

महालेखा नियन्त्रक कार्यालयका एक सहमहालेखा नियन्त्रकका अनुसार लेखापालले सबैभन्दा बढी माग गरेको कार्यालय राष्ट्रिय खोप उत्पादन प्रयोगशाला त्रिपुरेश्वर, सहरी विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परराष्ट्र मन्त्रालय, सडक विभाग जस्ता अड्डा हुन्।

महालेखा नियन्त्रक कार्यालयमा विगत ५ वर्षदेखि स्टोर हेरिरहेका लेखापाल हेमचन्द्र कार्कीले रोजेर राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वरमा सरूवा मिलाएको स्रोतले बतायो। ‘हेमचन्द्रले आफू राष्ट्रिय खोप उत्पादन प्रयोगशाला कि डोली जाने भनेर अडान लिएका थिए। त्यसै अनुसार उनले राष्ट्रिय खोप उत्पादन केन्द्र जस्तो कमाउने आकर्षक अड्डा हात पारेका छन्।’, मलेनिकाका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने। महालेखा नियन्त्रक कार्यालयभित्र निरज केसी, हेमचन्द्र कार्की र दिपेश चौलागाईंको ‘कोर टिम’ छ। महालेखाका यि कर्मचारीले जे भन्यो त्यही हुने गरेको छ। निरज महालेखामा बसेको ४ वर्ष भइसकेको छ। उनी सडक विभाग र परराष्ट्र मन्त्रालयमध्ये एउटा आकर्षक अड्डा ताकेर बसेका छन्। निरज सडक विभाग गएर रामचन्द्र शर्मालाई परराष्ट्र मन्त्रालय पठाउने गरी याेजना मिलाएको महालेखाभित्र चर्चा छ।

हेमचन्द्र र दिपेशको महालेखामा ५ वर्षदेखि निरन्तर रूपमा कार्यरत छन्। विगत ५ वर्षदेखि मलेनिकाको स्टोर शाखामा बसेर आफू अनुकुल काम  गरेका हेमचन्द्रको राष्ट्रिय खोप उत्पादन प्रयोगशालामा सरुवा भएपछि दिपेश पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, डोली, परराष्ट्र मन्त्रालय, पोखराको सडक विभाग वा भवन विभाग जस्ता छाेटाे समयमा धेरै कमाउने स्थान ताकेर बसेका छन्।

अधिकारीहरुका अनुसार महालेखामा बसेको ५ वर्ष हुन लाग्दा पनि दिपेशलाई मलेनिकाबाट सरुवा नगर्नुको पछाडि ठूलै चलखेल भएको बुझिन्छ। दिपेश अवधि पुगेर पनि मलेनिकाको चेक काट्ने ठाउँमा बसिरहेका छन्। उनले हेमचन्द्रको कामलाई निरन्तरता दिने महालेखा कै अधिकारीहरू दाबी गर्छन्। पहिला स्टोर शाखामा रहेका दिपेशले अहिले आफूलाई मलेनिकाको लेखा शाखामा स्थापित गरेका छन्। ‘हेमचन्द्रले सरुवामा वार्गेनिङ गर्ने, संगठनलाई प्रयोग गर्नेलगायतका कार्य गरेको समेत सुनियो। उनले अब जिन्सी कसलाई बुझाउँछन् त्यो हेर्न बाँकी छ।’, महालेखा स्रोतले भन्यो।

(क) बाट (क) वर्ग कै कार्यालयमा सरूवा हुने लेखापाल

लेखा समूहका कर्मचारीको पदस्थापन, सरूवा तथा काज व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८१ मा मापदण्डमा लेखापाल/सह-लेखापालको हकमा सहरी विकास मन्त्रालय अन्तर्गतका आयोजनाहरू र पशुसेवा विभाग अन्तर्गतका केन्द्र निकायहरूलाई (क) वर्गमा राखिएको छ। लेखापाल रुद्रप्रसाद खनाललाई (क) वर्गको बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाई, बुटवलबाट पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीमा सरूवा गरिएको छ। लेखापाल विकास पौडेल नेपालको लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, कास्कीबाट पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कास्कीमा सरूवा गरिएको छ।

नयाँ सहर आयोजना कार्यालय, बैरेनी गल्छीका लेखापाल नवराज उपाध्याय सरुवा भएर राष्ट्रिय पशु आहार तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला, काठमाडौंमा आएका छन्।

त्यस्तै मापदण्डमा लेखापाल/सह-लेखापालको हकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका आयोजना तथा बागवानी विकास केन्द्र र डिभिजन सडक कार्यालयहरूलाई (क) वर्गका राखिएको छ।

लेखापाल मतिबहादुर महतको पशु क्वारेन्टाइन कार्यालय, रुपन्देहीबाट सडक डिभिजन, पाल्पामा सरूवा भएको छ। लेखापाल मञ्जु कोइरालालाई नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रित आयोजना सहयोग इकाई, मोरङबाट सडक डिभिजन, विराटनगरमा सरुवा गरिएको छ। लेखापाल विष्णुप्रसाद शर्मा (क) वर्गको कृषि क्षेत्र विकास कार्यक्रमबाट सडक डिभिजन, जुम्ला जान सफल भएका छन्।

लेखाका कर्मचारीको सरूवासम्बन्धी मापदण्डमा लेखापाल/ सह-लेखापालको हकमा काठमाडौं उपत्यकास्थित आन्तरिक राजस्व कार्यालयहरू तथा करदाता कार्यालयहरू र वन तथा वातावरण मन्त्रालय अन्तर्गतका कार्यक्रमहरूलाई (क) वर्गमा राखिएको छ।

लेखापाल चन्द्रप्रकाश घिमिरेलाई मध्यमस्तरीय करदाता कार्यालय, बबरमहलबाट रेड प्लस तथा जलवायु परिवर्तन/समृद्धिका लागि वन कार्यक्रम, काठमाडौंमा सरूवा गरिएको छ। लेखापाल गणेश नेपाली (क) वर्गको सडक सुधार तथा विकास योजना कार्यालय, दाङबाट परियोजना कार्यान्वयन इकाई, प्युठान सरुवा गरिएको छ।

महालेखा नियन्त्रक कार्यालयमा बसेर आकर्षक अड्डामा

महालेखा नियन्त्रक कार्यालयमा बसेर लेखापालहरू सीधै सडक, सहरी, स्वास्थ्य जस्ता आकर्षक अड्डामा जान सफल भएका छन्। लेखापाल हेमचन्द्र कार्की महालेखा नियन्त्रक कार्यालयबाट (क) वर्गको राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, त्रिपुरेश्वर जान सफल भएका हुन्। महालेखा नियन्त्रक कार्यालयको पुल दरबन्दीमा रहेका विनोद रेग्मीको (क) वर्गको आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा सरुवा भएको छ। महालेखा नियन्त्रक कार्यालय पुल दरबन्दीमा रहेकी लेखापाल गीता खड्का (क) आयोजना निर्देशनालय (एडिबी)मा जान सफल भएकी छिन्।

महालेखा नियन्त्रक कार्यालयको पुल दरबन्दीमै रहेकी लेखापाल राधा केसी वली संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंमा सरुवा भएकी छिन्। महालेखा नियन्त्रक कार्यालयको पुल दरबन्दीमा रहेका लेखापाल बिक्रम केसी डुम्रे बेशीशहर चामे मनाङ सडक आयोजना, लमजुङ जान सफल भएका छन्। महालेखा नियन्त्रक कार्यालयका लेखापाल लक्षित धिताल झापा भूमिगत सिंचाई आयोजना झापा गएका छन्।महालेखा नियन्त्रक कार्यालयको पुल दरबन्दीमा रहेका लेखापाल प्रमोद निरौला नयाँ सहर आयोजना कार्यालय, बैरेनी गल्छीमा सरुवा मिलाउन सफल भएका हुन्।

अख्तियारबाट सडकमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाका कार्यालयहरूमा बसेका लेखापालहरू सडक डिभिजनमा आउने प्रवृत्ति देखा परेको छ। यो प्रवृत्तिले विकृत रूप लिन थालेको देखिन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिबासबाट लेखापाल शरदप्रसाद यादव सडक डिभिजन, जनकपुर गएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखरा कै लेखापाल सरुवा भएर सडक डिभिजन, पाटन आउन सफल भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका लेखापाल सरोजकुमार दासको सरुवा सडक डिभिजन, चन्द्रनिगाहपुर भएको छ। अख्तियारबाट आकर्षक अड्डा मानिने सडक डिभिजनमा जानुको रहस्य आफैमा खोजीको विषय बनेको हो।

स्वास्थ्यमा भित्रिने र बाहिरिने लेखापाल 

लेखापाल विद्या गौतम वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, काठमाडौंबाट राष्ट्रिय ट्रमा सेन्टरमा सरुवा भएर आएकी छिन्।राष्ट्रिय ट्रमा सेन्टरका कार्यरत लेखापाल मनिषा ओझा वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, काठमाडौं पुगेकी छिन्। लेखापाल जुना विष्ट विद्युत नियमन आयोगबाट स्वास्थ्य बीमा बोर्ड आएकी छिन् भने स्वास्थ्य बीमा बोर्डकी लेखापाल सुनिता रेग्मी सरुवा भएर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएकी छिन्।

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, ललितपुरको लेखापाल कर्मराज जैशी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) आएका छन्। न्याम्सका लेखापाल ओमप्रकाश बस्याल जिल्ला समन्वय समितिको कार्यालय, भक्तपुर पुगेका छन्।

लोकसेवा आयोग केन्द्रीय कार्यालयका लेखापाल नरेन्द्रकेशर खनाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी लेखापाल अनुपमा न्यौपाने दाहालको पशुसेवा विभाग, ललितपुरमा सरुवा भएको छ।तथ्याङ्क समन्वय कार्यालय, काठमाडौंका लेखापाल विकास मगर सरुवा भएर वीर अस्पताल, नर्सिङ क्याम्पस आएका छन्। वीर अस्पताल, नर्सिङ क्याम्पस लेखापाल शिशिरकुमार थापा जिल्ला समन्वय समितिको कार्यालय, अछाम पुगेका हुन्।

राष्ट्रिय योजना आयोगकी लेखापाल मायादेवी खनाल मनोसामाजिक अपाङ्ग बन्दी अस्पताल, ललितपुरमा सरूवा भएकी छिन्। मनोसामाजिक अपाङ्ग बन्दी अस्पतालका लेखापाल सुरेन्द्र देशार राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिमा पुगेका छन्। लेखापाल सिता कार्कीको सडक विभागबाट चिकित्सा शिक्षा आयोग सरुवा भएको छ। चिकित्सा शिक्षा आयोगबाट लेखापाल कविता पराजुली पर्यटन विभाग पुगेकी छिन्।

लेखापालहरूको सरूवा सूची

क्याटेगोरी : समाचार, सुशासन
ट्याग : #दिपेश चौलागाई, #निरज केसी, #महालेखा नियन्त्रक विनोदप्रकाश सिंह, #राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, #लेखापाल, #हेमचन्द्र कार्की

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ