काभ्रे र धादिङका सिडिओ फेरिए, ढकाल र घिमिरे गए
काठमाडौं। गृह मन्त्रालयले काभ्रेपलाञ्चोक जिल्ला र धादिङको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरेको छ। विपद्मा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै काभ्रेका सिडिओ सूर्यप्रसाद सेढाईलाई गृह मन्त्रालय तानेर त्यहाँ केही समय अगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट भित्रिएका उमेशप्रसाद ढकाललाई पठाइएको छ। बाढी-पहिरोमा काभ्रे जिल्लामा ठूला क्षति पुऱ्याएको छ।
काभ्रेका सिडिओ सेढाई क्यान्सर रोगका कारण बाढी-पहिरोले बितण्डा मच्चाउँदा सक्रिय हुन सकेनन्। विपद्को समयमा देशमा प्रधानमन्त्री छैनन् काभ्रेमा सिडिओ छैनन् भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको थियो। साँच्चै विपद्मा काभ्रे प्रशासनको भूमिका कमजोर देखियो।
त्यस्तै धादिङका सिडिओ राजेन्द्रदेव पाण्डेलाई पनि गृह मन्त्रालय फिर्ता बोलाएर त्यहाँ सुमन घिमिरेलाई पठाउने निर्णय गरेको छ। घिमिरे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गृह मन्त्रालय छिरेका हुन्। धादिङका सिडिओ पाण्डेले बाढी-पहिरोमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चर्को आलोचना भएको थियो। उनलाई गृह मन्त्रालय फिर्ता बोलाएर धादिङको सिडिओमा घिमिरेलाई पठाइएको हो।
विपद्मा उचित रुपमा जनशक्ति परिचालन गर्न नसक्ने र क्षमता प्रदर्शन गर्न नसक्के सिडिओ फिर्ता बोलाउने गरिन्छ। कुनै घटना घट्यो भने पनि सिडिओलाई मन्त्रालय तान्ने गरिन्छ। केही समय अगाडि तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ज्यान जोगाउन ललितपुरको बालकुमारीमा गोली चलेर मान्छे मर्दा ललितपुरका तत्कालीन सिडिओ रुद्रप्रसाद पण्डितलाई पनि मन्त्रालय तानेर तुलसी श्रेष्ठलाई पठाइएको थियो।
सिडिओको भूमिका हेर्दा सिन्धुली र ललितपुरको पनि फिर्ता बोलाउन आवश्यक देखिन्छ। ललितपुरको नख्खु खोलामा ३ घण्टासम्म मान्छे उद्धार नहुँदा बगेका थिए। सिन्धुलीमा पनि मानवीय क्षति भएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस