स्रोत-साधान बिना नै गृहले बाढीपहिरो प्रभावित जिल्लामा सहसचिव खटायो


काठमाडौं। बिना स्रोत-साधन नै गृह मन्त्रालयले ८ सहसचिवलाई बाढीपहिरो प्रभावित जिल्लामा खटाएको छ। बाढीपहिरो प्रभावित जिल्लाको अवस्था बुझ्न यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न गृह मन्त्रालयले खटाएका सहसचिवहरू आफैं समस्यामा परेका छन्। गृह मन्त्रालय स्रोतका अनुसार जिल्ला तोकेर खटाइएका सहसचिवहरूलाई त्यहाँ पुग्नका लागि गृहले सवारी साधनको समेत व्यवस्थापन गर्न सकेको छैन। यसले गृहको आन्तरिक व्यवस्थापन कति फितलो रहेछ भन्ने प्रस्ट हुन्छ। उनीहरूले आफ्नो व्यवस्थापन आफैले गरेर खट्नु परेपछि गृहको आन्तरिक व्यवस्थापनमाथि समेत प्रश्न उठेको छ।

विपद्मा राज्यले उचित भूमिका खेल्न नसकेको भनेर आलोचना भएपछि गृह मन्त्रालयले ‘फेस सेभिङ’का लागि ८ जिल्लामा ८ जना सहसचिवको नेतृत्वमा टोली पठाउने निर्णय गरेको थियो। उक्त निर्णय मुताबिक ती सहसचिवहरूलाई फिल्डमा खटाइएको हो। विपद् व्यवस्थापन चुकेको गृह मन्त्रालय कार्यदललाई फिल्डमा खटाउदा पनि चुकेको देखिन्छ। स्थायी संयन्त्रलाई विश्वास नगरेर अस्थायी कार्यदल बनाएपछि यसले पनि सरकारमाथि प्रश्न उठेको छ।

गृहले बाढीपहिरो प्रभावित एउटा जिल्लामा एक सहसचिवले नेतृत्व गर्ने गरी कार्यदल बनाएर ८ जना सहसचिवलाई फिल्डमा खटाएको छ। गृहले सहसचिव गोविन्दप्रसाद रिजाल काठमाडौंमा, प्रकाश पौडेललाई ललितपुरमा, नारायणप्रसाद अर्याललाई भक्तपुरमा,  बासुदेव घिमिरेलाई काभ्रेपलाञ्चोकमा रामबन्धु सुवेदीलाई मकवानपुरमा श्यामकृष्ण थापा सिन्धुपाल्चोकमा रमेश ढकाल धादिङमा र लालबाबु कवारीलाई सिन्धुली जिल्लामा कार्यदलको नेतृत्व दिएर फिल्डमा खटाइएको हो।

पुस २१ सम्मको कार्यदेश दिएर गृहका यी सहसचिवहरूलाई बाढीपहिरो प्रभावित जिल्लाको खटाइएको छ। उनीहरुको नेतृत्वमा गठित कार्यदलमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालका उपसचिव तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा, जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर प्रतिनिधि रहने छन्। उक्त कार्यदलले यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न काम गर्नेछ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ