बागमती प्रदेशमा ६ जना सचिवको जिम्मेवारी तोकियो


काठमाडौं। बागमती प्रदेश सरकारले ६ जना सहसचिवको जिम्मेवारी तोकेको छ। संघबाट सरुवा भएर गएका र त्यहीँ रहेका सहसचिवहरूलाई प्रदेश सरकारले सचिवको जिम्मेवारी दिएको हो।

संघको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट प्रदेशमा सरुवा भएर गएका सहसचिव मोहनकुमार शाक्यलाई प्रदेशको खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। शाक्य यसअघि पनि उक्त मन्त्रालयको सचिव भइसकेका व्यक्ति हुन्। उनी प्रदेशबाट संघमा आएर फेरि प्रदेशमै फिर्ता भएका हुन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव श्रवणकुमार पोखरेललाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय समेत हेर्ने गरी जिम्मेवारी तोकिएको छ। पोखरेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासन हेर्ने सचिव हुन्। संघको लोकसेवा आयोग, जलेश्वर कार्यालयबाट बागमती प्रदेशमा सरुवा भएर गएका सहसचिव तुलसीनाथ गौतमले प्रदेश लोकसेवा आयोगको सचिवको जिम्मेवारी पाएका छन्। संघ युवा तथा खेलकुद मन्त्रालयबाट बागमती प्रदेशमा सरुवा भएर गएका सहसचिव विदुर खनालले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको शासकीय सुधार हेर्ने सचिवको जिम्मेवारी पाएका छन्।

त्यस्तै मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवबाट बागमती प्रदेशमा सरुवा भएर गएका सहसचिव केशवराज सुवेदीले प्रदेशको नीति तथा योजना आयोगको सचिवको जिम्मेवारी पाएका छन्। प्रदेशको वन तथा वातावरण सचिवको जिम्मेवारी भने केदार बरालले पाएका हुन्। प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले उनीहरूको जिम्मेवारी तोकेको हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #केदार बराल, #केशवराज सुवेदी, #तुलसीनाथ गौतम, #मोहनकुमार शाक्य, #विदुर खनाल, #श्रवणकुमार पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ