ज्ञानेन्द्र शाहीले भनेजस्तै ‘स्टेट फेलियर’ भइसकेको हो?

'सर्वदलीय बैठकबाट कार्यवाहक प्रधानमन्त्रीले गरेको फोन मुख्यसचिवले काटिदिए'


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दशैं र तिहार सकिएलगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले अहिलेको राज्य-संयन्त्र पूरै असफल (स्टेट फेलियर) भएको दाबी गरे ।

शाहीले मुलुकमा सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्थामा सरकारले आह्वान गरेको सर्वदलीय बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले देशको मुख्यसचिव एकनारायण अर्याललाई फोन गर्दा मुख्यसचिवले फोन नै काटिदिएको खुलासा गरे। ‘सर्वदलीय बैठकमा मुख्यसचिव थिएनन्। बैठकबाटै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मुख्यसचिवलाई फोन गर्नुभयो तर मुख्यसचिवले कार्यवाहक प्रधानमन्त्रीको फोन गर्दापनि काटिदिए। यो भनेको स्टेट फेलियर हो।’, कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाएको बैठकमा सहभागी भएका शाहीले भने। प्रधानमन्त्रीलाई देशका आईजिपीहरुले भेट्न नमानेर उनीहरुले भोलि भेटौंला भनेको सुनाउँदै उनले यो स्टेट फेलियर कै अवस्था भएको दाबी गरे। शाहीले विपद्का बेला मुख्यसचिवले देखाएको गैरजिम्मेवारीपनको चर्को आलोचना समेत गरेका छन्।

बाढीपहिरोको बितण्डा रोकिएपछि कार्यवाहक प्रधानमन्त्री सिंहले राखेको बैठकमा मुख्यसचिव अर्याल नआएपछि उनले फोन गरेका थिए। तर, बैठकमा सहभागी प्रत्यक्षदर्शी शाहीले मुख्यसचिव अर्यालले कार्यवाहक प्रधानमन्त्री सिंहको फोन काटिदिएको सुनाए। यो स्टेट फेलियर जस्तै भएको उनको भनाइ छ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठक

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौंको संख्यामा ज्यान गुमाउँदापनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । उनले नागरिकले के को लागि कर तिर्ने ? भन्दै प्रश्न तेर्साए ।

अहिले सरकार र सत्ता पक्षका नेताहरु जनताको घरदैलोमा जान त परै जाओस् सार्वजनिक कार्यक्रममा समेत भाग लिन डराउन थालेको शाहीले आरोप लगाए । उनले भने,‘सरकार पक्षका मान्छे जनताकहाँ जान डराउँथे, तर अब त सार्वजनिक कार्यक्रममापनि आउन डराए । यिनीहरु अहिले पत्रकारदेखि भाग्न थाले । जनतादेखि भाग्ने, देशको प्रधानमन्त्री अमेरिकामा जााँदा कार्यक्रम स्थगन् गर्ने, बास्तवमा यिनीहरुको पालो अब भाग्ने नै हो । यो सरकारको अब दिनगन्ती सुरु भैसक्यो । गतिलो काम गरेको भए यसरी भाग्नुपर्दैन थियो।’

शाहीले भनेजस्तै सरकारका प्रधानमन्त्री र कुनै पनि मन्त्री बाढीपहिरो पीडितलाई भेट्न जान सकेका छैनन्। बरु प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाढीपहिरो पीडितलाई भेट्दै हिँडेका छन्। यसले पनि सरकारको जिम्मेवारी र औचित्यमाथि प्रश्न उठ्न थालेको छ। प्रधानमन्त्री र मन्त्रीहरु पीडित जनतासँग डराइरहेको भान हुन्छ।

शाहीले धादिङको झ्याप्ले खोलाको पहिरोले ३५ जना नागरिकले ज्यान गुमाउनुमा राज्य जिम्मेवार रहेको आरोप लगाए। उनले भने,‘मौसम पूर्वअनुमान महाशाखाले तीन दिनअघि नै अलर्ट गराएको थियो। तर, राज्यको उपस्थिति देखिएन। नेपालको भएको यो घट्ना यदि युरोप, अमेरिका वा अरबमा घटेको भए के हुन्थ्यो? आज ती जिल्लाका सिडिओ, एसपीहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चल्दथ्यो। फाँसी दिने देशमा त तिनीहरुलाई फाँसी दिईन्थ्यो।’

ललितपुरको नख्खुमा नागरिकले घण्टौंदेखि ज्यान बचाउनको लागि याचना गर्दापनि सरकारको उपस्थिति नदेखिएकोमा पनि उनले सरकारको असफलतासँग जोडे। उनले भने,‘नख्खुबाट सिंहदरबार धेरै टाढा छैन्। जनताले घण्टौं चिच्याउँदापनि उद्धार भएन। यो अवस्था भोलि अरु नागरिकलाई नआउला भन्न सकिएला। हामीले आखिरमा सरकारबाट के पायौं त? ज्यान बचाउनको लागि याचना गर्दापनि सरकार देखिएन। कर के को लागि तिरेका छौं? कर्मचारीलाई तलब खुवाउनको लागि मात्रै हो? आज विपत्ति पर्दा सरकार कहाँ गयो? म भन्छु अहिलेको राज्यसंयन्त्र फेल भैसक्यो। देशमा गृहमन्त्रीको आदेश कसैले मान्दैन्। त्यसैले अब जनताबाट प्रतयक्ष निर्वाचित प्रधानमन्त्रीमा जाउँ। यही व्यवस्था रह्यो भने भोलि म नै प्रधानमन्त्री भएँ पनि केही गर्न सक्दिनँ।’

उनले आफूले सर्वदलीय बैठकमा समेत हवाई भाडामा भएको मूल्यवृद्धिको विषय उठाएको स्मरण गराए। तर, विभागीय मन्त्री पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेले भने भाडा घट्ने भनेर आश्वासन दिएको भएपनि व्यवहारमा त्यस्तो नदेखिएको बताए। उनले अहिले सरकार जनतामा जान नसक्नुको कारण जनताले कालो मोसो दलेर पठाउने नै मुख्य कारण भएको दाबी गरे।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ