वसन्त चौधरीले चलाउन नसकेको गौशाला धर्मशाला बालेनले चलाउने


काठमाडौं। वसन्तकुमार चौधरी पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव हुँदा मारवाडी सेवा समिति, नेपाललाई कौडीको भाउमा भाडामा दिएको गौशालास्थित धर्मशाला काठमाडौं महानगरपालिकाले चलाउने भएको छ। त्यो बेला वसन्त चौधरीले चलाउन नसकेर वार्षिक ५१ हजार अर्थात् कौडीको भाउमा मारवाडीलाई दिएको धर्मशाला अदालतको निर्णयपछि कोषले फिर्ता पाएको हो। उक्त धर्मशाला काठमाडौं महानगरपालिकाले चलाउने भएको छ। 

पशुपति क्षेत्र विकास कोषले उक्त धर्मशाला सञ्चालनका लागि काठमाडौं महानगरपालिकालाई पत्राचार समेत गरेको छ। उक्त पत्राचारको विषयमा काठमाडौं महानगरपालिकाको ३६ औं नगर कार्यपालिकाको बैठकमा जानकारी गराइएको हो। मारवाडी सेवा समितिले भोगचलन गरिरहेको गौशाला धर्मशालामा अदालतबाट मारवाडीको दाबी नपुग्ने निर्णय भएपछि कोषले फिर्ता पाएको हो। कोषले गौशाला धर्मशाला खाली गरि सामाजिक तथा धार्मिक कार्यमा प्रयोग गर्न काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ।

गौशाला धर्मशाला व्यवस्थापन, सञ्चालनसम्बन्धी कोष र महानगरपालिकाबीच सम्झौता गरी अगाडि बढ्ने तयारी भइरहेको छ। महानगरले गौशाला धर्मशाला सञ्चालन सम्बन्धी कार्यविधि बनाउने प्रस्ताव पारित गरेको छ। पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला काठमाडौं महानगरपालिकालाई सञ्चालन गर्न दिने निर्णय गरेको मेयर बालेन्द्र शाह (बालेन)ले कार्यपालिका बैठकमा जानकारी गराएका छन्। कोषले काठमाडौं महानगरपालिका गौशाला धर्मशाला विसुद्ध गैरनाफामूलक सामाजिक सेवा अन्तर्गत नै कार्य गर्ने जनाएको छ।

मारवाडी सेवा समितिबाट खोसिएको गौशाला धर्मशालामा गाई पाल्ने, पशुपतिनाथको मन्दिरमा चढाउने दैनिक २९ लिटर दुध उपलब्ध गराउने, श्रद्धालु भक्तजनका लागि निःशुल्क भोजन तथा आवास अर्थात् धर्मशाला र जनतालाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा दिने तथा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र पनि, विपद्मा परेका मानिसका लागि मानव सेवा व्यवस्था गर्ने सूचना केन्द्र सञ्चालन गर्न पाउने , सार्वजनिक पुस्तकालयल स्थापना तथा सञ्चालन गर्न सक्ने र अन्य सामाजिक तथा धार्मिक कार्य गर्न सक्ने गरी कोषले महानगरलाई जिम्मा लगाएको हो। गौशाला धर्मशाला सञ्चालन तथा व्यवस्थापनका लागि व्यवस्थापन समिति पनि गठन हुने भएको छ।

२०६० सालमा वसन्तकुमार चौधरी पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव भएका बेला ९ रोपनी ९ आनाभन्दा बढी क्षेत्रफलमा फैलिएको उक्त गौशाला धर्मशाला मारवाडी सेवा समितिलाई कौडीको भाउमा दिनेगरी सम्झौता भएको थियो। मारवाडीबाट खोसेको उक्त धर्मशाला कोषले महानगरलाई हस्तान्तरण गरेको हो।

क्याटेगोरी : समाचार
ट्याग : ## पशुपति क्षेत्र विकास कोष, #काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, #गौशाला धर्मशाला, #वसन्त चौधरी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ