इनरुवा अस्पतालका मेसु कुट्ने ठेकेदार वडाध्यक्षले आमालाई गरिब बनाएर उपचार गराएको खुलासा

इनरुवाको ठेक्का एकलौटी पारेका सुमन र खेमराजको परिवार कसरी भयो गरिब?


सुनसरी। ठेकेदार र सम्पन्न परिवारका इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाले अख्तियारको दुरुपयोग गर्दै आमालाई गरिब तथा विपन्नको सुविधामा उपचार गराएको तथ्य सार्वजनिक भएको छ। जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सन्तोष राईमाथि हातपात भएपछि उक्त तथ्य सार्वजनिक भएको हो। 

जिल्ला अस्पताल सुनसरी, इनरुवाका कर्मचारीहरूका अनुसार वडाध्यक्ष थापाको सिफारिसका आधारमा गंगामाया थापालाई गरिब तथा विपन्न नागरिकको सुविधामा निःशुल्क उपचार गराईएको हो। गंगामाया वडाध्यक्ष थापाकी आफ्नै आमा हुन्। वडाध्यक्ष थापाले ‘आफ्नै हात जगन्नाथ’ गरेपछि जिल्ला अस्पताल सुनसरी, इनरुवाबाट शतप्रतिशत उपचारमा छुट पाएका छन्।

अस्पतालका जिम्मेवार कर्मचारीका अनुसार वडाध्यक्ष सुमन थापाकै सिफारिसका आधारमा गंगामायाको निःशुल्क उपचार गरिएको हो। वडाध्यक्ष सुमनका भाइ खेमराजको ‘ग्याङ’बाट कुटाई खाने डरले अस्पतालका ती कर्मचारीले आफ्नो नाम उल्लेख नगरिदिन आग्रह गरे।

जिल्ला अस्पताल सुनसरी, इनरुवाका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.सन्तोष राईलाई कुट्ने वडाध्यक्ष सुमनका भाइ खेमराज बराह निर्माण सेवाका प्रबन्ध निर्देशक समेत हुन्। नेपाली कांग्रेस इनरुवा नगर समितिका सचिव रहेका खेमराजको इनरुवा नगरपालिकाका ठेक्कामा हालिमुहाली रहेको पाइन्छ। ‘दबङ’शैलीमा अस्पतालभित्र प्रदेश गरेर मेसुमाथि हातपात गर्ने ठेकेदार खेमराजले आमालाई भने गरिब बनाएर उपचार गराएको पाइएको हो।

खेमराजको नाममा दर्ता गराएरको फर्म मार्फत वडाध्यक्ष सुमनले पनि सगोलमै ठेक्कापट्टाको काम गर्दै आएका छन्। वडाध्यक्ष सुमन इनरुवा नगरपालिकाका प्रवक्ता समेत हुन्। सुमन र खेमराजको इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी र जिल्ला समन्वय समितिका सभापति राजन मेहतासँग घनिष्ठ सम्बन्ध रहेको छ। भण्डारी नेपाली कांग्रेस सुनसरीका जिल्ला सभापति हुन् भने मेहता कांग्रेस इनरुवा नगर समितिका सभापति समेत हुन्। त्यसैले खेमराजको बराह निर्माण सेवाले इनरुवाका अधिकांश ठेक्का हत्याएको पाइन्छ। मधेशाको सम्पन्न परिवारका वडाध्यक्ष सुमन थापाले आफूलाई जन्मदिने आमालाई भने गरिब बनाएर अस्पतालमा उपचार गराएको पाइएको हो।

गलत ‘प्रेसक्रिप्सन’ लेखेको भनेर मेसु राईलाई कुट्ने स्थानीय कांग्रेस नेता एवं ठेकेदार खेमराज प्रहरी हिरासतमा पुगेका छन्। अख्तियारको दुरुपयोग गर्दै आमालाई गरिब तथा विपन्नको सुविधा दिलाउन सिफारिस गर्ने वडाध्यक्ष सुमन भने उनलाई छुट्याउन ज्यान दिएर लागेका पाइन्छ। सकेसम्म डाक्टर कुट्ने भाइमाथि मुद्दा चलाउन नदिने र मुद्दा नै चलाउनु परे पनि कमजोर पार्ने रणनीतिमा सुमनसहितका कांग्रेस नेताहरू सक्रियतापूर्वक लागेका छन्। गरिब तथा विपन्नको सुविधा लिएर उपचार पश्चात आमा गंगामायाको ‘डिस्चार्ज’ भएपछि इनरुवा अस्पतालका मेसु राई खेमराजद्वारा कुटिएका हुन्। डाक्टर कुटेर इनरुवामा निरन्तर ‘गुण्डाराज’ चलाउन उनीहरु लागिपरेका छन्।

अधिवक्ता जयबहादुर भुजेल वडाध्यक्षले सम्पन्न परिवारका सदस्य गरिब तथा विपन्न भनेर सिफारिस दिने कार्य अख्तियारको दुरुपयोग मात्र नभई भ्रष्टाचारजन्य कार्य भएको दाबी गर्छन्। त्यसमाथि पनि गरिबले पाउने सुविधामा आफ्नै आमालाई गरिब बनाएर स्वास्थ्य उपचार दिलाउनु गम्भीर विषय भएको अधिवक्ता भुजेलको भनाइ छ। यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालयले छानबिन गरेर भ्रष्टाचार मुद्दा चलाउन सक्ने अधिवक्ता भुजेलको धारणा छ।

सम्पन्न परिवारका वडाध्यक्ष थापाले आफ्नै आमालाई गरिब बनाएर उपचार गराएको पाइएकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल छानबिन गर्नु पर्ने देखिन्छ। सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ मधेशामा टन्न जग्गा जमीन भएका र ठेक्कापट्टाबाट मनग्य आम्दानी गरेका सुमनले आमालाई गरिब बनाएर उपचार गर्नुले स्थानीय तहका जनप्रतिनिधिले अख्तियारको कुन हदसम्म दुरुपयोग गर्छन् भन्ने स्पष्ट पारेको छ। अख्तियारको अधिकार प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले समेत प्रयोग गर्न सक्ने भएकाले सुनसरीका प्रमुख जिल्ला अधिकारीले समेत यो विषयमा चासो दिनु पर्ने हो। तर, सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले के गर्छन् हेर्न बाँकी छ। यो घटनामा सिडिओको पनि परीक्षण हुनेवाला छ।

क्याटेगोरी : समाचार
ट्याग : #खेमराज थापा ठेकेदार, #डा. सन्तोष राई जिल्ला अस्पताल सुनसरी मेसु, #बराह निर्माण सेवा, #रामचन्द्र तिवारी, #सुमन थापा वडाध्यक्ष

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ