बसौलाको बीमामा शङ्कास्पद गतिविधि

कारबाहीका लागि सिफारिस गरेको अस्पताललाई सबै भन्दा धेरै रकम भुक्तानी


काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले असोज २१ गते ३६१ सेवा प्रदायक स्वास्थ्य संस्थालाई दावी भुक्तानी वापत ३ अरब २१ करोड ५७ लाख बढी रकम वितरण गरेको थियो । उक्त रकम वितरणमा धेरै चलखेल भएको बीमा बोर्डका कर्मचारीहरूले बताएका छन् ।

स्वास्थ्य बीमाको रकम भुक्तानीमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले चलाखीपूर्ण निर्णय गर्दै आएका छन् । भद्रपुरको एक निजी अस्पताल ओम साइ पाथिभरालाई एक हप्तामै गुपचुप कारबाही फुकुवागरी सबै भन्दा धेरै रकम पठाएको पाइएको छ । १ सय बेडको सो अस्पताललाई निर्देशकको दबाबमा ५ करोड २० लाख बढी रकम दिइएको छ । ओम साइ पाथिभरा अस्पताललाई निजी क्षेत्रका अस्पताललाई दिएको रकम मध्ये सबै भन्दा बढी हो ।

प्रधानमन्त्रीको अस्पताललाई कारबाही गर्ने भन्दै कर्मचारी थर्काउँदै आएका निर्देशक बसौलाले एक सातामा कारबाही फुकुवा गरेका थिए । कारबाही फुकुवा गरेर अख्तियार र सतर्कतालाई चुनौती दिदैँ बसौलाले विवादीत अस्पताललाई मोटो रकम पठाएका हुन् । बोर्ड र निजी अस्पताल सञ्चालकहरूले बताए अनुसार बसौला पुन निर्देशकमा नियुक्ति हुन चलखेलमा जुटेकाले उक्त अस्पतालका सञ्चालक र सदस्यहरू रुझाउन कारबाही फुकुवा गरेर बढी रकम पठाइएको हो ।

अस्पतालका सञ्चालक झापा निवासी दीपक पोखरेल हुन् । त्यस्तै उक्त अस्पतालको सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय सचिव दिपेन्द्र दाहाल समेत रहेको बुझिएको छ । सेयर सदस्यहरूका विषयमा स्वास्थ्य लाइभले अनुसन्धान सुरु गरेको छ ।

डा दामोदर बसौलाको नजिकका व्यक्तिहरूले बताए अनुसार उनको अहिलेको आड र भरोसा भनेको दाहाल र पोखरेल हुन् । पोखरेल सौर्य एयरलाइन्सका तत्कालीन मालिक हुन् । जहाज घाटामा गएपछि बेचेर अस्पताल सञ्चालनमा जुटेका हुन् । बोर्डले सार्वजनिक गरेको बजेट वितरण सूचि र उनी माथि कर्मचारीहरूबाट लाग्दै आएको सेटिङको आरोप मिलेको जस्तो देखिन्छ ।

३ सय ६१ सेवा प्रदायक स्वास्थ्य संस्था मध्ये थोरै अस्पतालले मात्रै ५ करोड भन्दा बढी रकम पाएका छन् । अझ निजी अस्पतालको हकमा ५ करोड भन्दा माथि पाउने कारबाहीमा परेको ओम साइ पाथिभरा अस्पताल मात्रै हो ।

निजी क्षेत्रबाट सञ्चालित गण्डकी मेडिकल कलेजलाई ५ करोड ६८ लाख पठाइएको छ भने, कलेज अफ मेडिकल साइन्सेसलाई ८ करोड माथि पठाइएको छ । मेडिकल कलेज सात सय ५० माथि शय्यामा सञ्चालित छन् । तर, प्रधानमन्त्रीको नाम बेचेर कारबाही नगरेको ओम साइ पाथिभरा अस्पताललाई भने बसौलाले ५ करोड २० लाख रकम पठाएपछि बीमा क्षेत्र तरङ्गीत बनेको छ ।

देशका नामुद अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई ५ करोड १२ लाख पठाएका छन् । वीर अस्पतालको तथ्याङ्क अनुसार दैनिक २५ सय सम्म बिरामी सेवा लिनका लागि आउँने गरेका छन् । उता विपी कोइराला स्वास्थ्य विज्ञान धरानमा पनि सोही हाराहारीमा बिरामी आउँने गरेका छन् । अब, आफै छुट्याउनु बसौलाले कुन नियतले प्रधानमन्त्रीको स्वकीय सचिव र प्रधानमन्त्रीसँग नजिक रहेका व्यक्तिले चलाएको अस्पतालमा यति धेरै रकम गयो !

जनता ठग्ने अस्पताललाई किन संरक्षण गरे बसौलाले
स्वास्थ्य मन्त्रालय र बीमा बोर्डका कर्मचारीले बताए अनुसार भद्रपुरमा रहेको ओम साइ पाथिभरा अस्पताल अत्यन्तै कमजोर अस्पताल हो । तर, पुन निर्देशक बन्ने चलखेलमा जुटेका बसौलाले खेलेको गेमले बीमाको रकम बितरणमा स्वार्थ जोडिएको छ ।

स्वास्थ्य बीमा बोर्डले उक्त अस्पताललाई गत २०८१ साल असार १० गते सेवाको नाममा ठगी गरेको गुनासोका आधारमा स्पष्टिकरण सोधेको थियो । उक्त स्पष्टिकरणको जवाफ १४ गते पठाएको थियो ।

ओम साइ पाथिभरालले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनको अशल उदेश्यलाई दुषित पार्ने गरी सेवा संचालन गरेको, बोर्डका निर्णयहरु कार्यान्वयन नगरेको, आवश्यकता अनुसार उपचार र सिफारिस भन्दा पनि आवश्यकता भन्दा बढी औषधि सिफारिस गरेको, आवश्यकता भन्दा बढी परिक्षण गराएको जस्तो गंभिर हेलचेक्राई गरेको पाएपछि बोर्डले कारबाहीका लागि प्रक्रिया अगाडि बढाएको थियो ।

कारबाहीको प्रक्रिया अगाडि बढ्नासाथ निर्देशक बसौलाले प्रधानमन्त्रीको अस्पताललाई कारबाही गर्ने भन्दै एक सातामा कारबाही फुकुवाको परिपत्र गरेका थिए । बोर्डका कर्मचारीहरूले बताए अनुसार प्रधानमन्त्रीको अस्पताल कारबाही गर्ने भन्दै एक जना कर्मचारीलाई अन्यन्त्र सरुवा गरिएको छ । उनको सरुवा गर्न प्रधानमन्त्रीको स्वकीय सचिव दिपेन्द्र दाहाल हात धोएर लागेको कर्मचारीहरु बताउँछन् ।

कारबाही गर्नुको साटो बसौलाले पुन नियुक्ति पाउने आसमा गल्ती अन्जानमा भएको चेतावनी पत्रमा लेखेका छन् । यो गल्ती अन्जानमा भएको हो, अब यस्तो हुदैन भन्दै असार २५ गतेको निर्णयमा सचेत गराएर रकम पठाएका हुन् ।

यता बसौलाले भने सरासर ढाँटेका छन् । स्वास्थ्य लाइभले उनलाई ओम साइ पाथिभरा अस्पताललाई गरिएको कारबाही र सोधिएको स्पष्टिकरण बारे जिज्ञासा राखेको थियो । जिज्ञासाको जवाफमा निर्देशक बसौलाले यस्तो केही नभएको जवाफ दिएका छन् ।

ओम साइ पाथिभरालाई कारबाहीको कुरा हैन, स्पष्टिकरण समेत नसोधिएको उनको दाबी रहेको छ । तर, स्वास्थ्य लाइभले स्पष्टिकरणको पुर्ण डकुमेन्ट हात पार्न नसके पनि उक्त अस्पताललाई पठाएको स्पष्टिकरणको मिति, त्यसको जवाफ र ब्यहोरा फेला पारेको छ । विवादीत काम गरेका उनले त्यसबाट भाग्न कुनै स्पष्टिकरण नसोधेको जस्तो गैरजिम्मेवार जवाफ दिदैँ हिडेका छन् । आफैले निर्णय गरेको मिति सहितको स्पष्टिकरण पत्र बाहिर आएपछि नैतिकता र इमान भएको व्यक्ति पदमा बस्ने हिम्मत गर्दैन ।

बसौलालाई व्यापारी देखि अस्पताल सञ्चालक सम्म गरेको बार्गेनिङ्को विषयमा राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी समेत परेको छ । यस्ता व्यक्तिमाथी प्रधानमन्त्रीले अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउँछन् वा संरक्षण गरेर बीमालाई भ्रष्टहरुको दुहुनो गाई बनाउँछन् त्यो हेर्न बाँकी छ ।

थप अर्को अंकमा …………

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ##Bima

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ