अध्यागमनको महानिर्देशकमा रिजाल, पौडेललाई चितवनको सिडिओ बनाएर पठाइयो


काठमाडौं। गृह मन्त्रालयले केही सहसचिवलाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयको ‘बरण्डा’ टन्नै सहसचिव भएपनि २ जना सहसचिवलाई जिम्मेवारी दिएर फेरि एक जनालाई ‘बरण्डा’मा तानिएको हो। गृहले मन्त्रालयको बरण्डामा रहेका गोविन्दप्रसाद रिजाल र प्रकाश पौडेललाई जिम्मेवारी दिएको छ भने चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) रहेका इन्द्रदेव यादवलाई बरण्डामा तानेको हो।

गृह मन्त्रालयले मन्त्रालयमा रहेका सबैभन्दा वरिष्ठ सहसचिव गोविन्दप्रसाद रिजाललाई अध्यागमन विभागको महानिर्देशक बनाएको छ। अख्तियारबाट आएर अध्यागमन विभागको नेतृत्व गरेका सहसचिव कोषहरि निरौला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयतिर लागेपछि रिजाललाई उक्त जिम्मेवारीमा पठाइएको हो। रिजाल काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ) र गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख भइसकेका सहसचिव हुन्।

लुम्बिनी प्रदेशबाट गृह मन्त्रालय आएका प्रकाश पौडेललाई चितवनको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएको छ। पौडेल राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागका महानिर्देशक भइसकेका व्यक्ति हुन्। उपसचिव हुँदा विभिन्न जिल्लाको सिडिओ भएका पौडेल सहसचिव भएपछि भने पहिलोपटक चितवनको सिडिओ भएर जाने भएका छन्। सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ परेपछि कास्की र चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीले आन्दोलन गरिरहेको छ। उक्त आन्दोलन चितवनतर्फ केन्द्रित हुने परिस्थिति सिर्जना भइरहँदा पौडेललाई चितवन पठाइएको हो।

पौडेल र रिजालभन्दा अगाडि आएर गृह मन्त्रालयको बरण्डामा बसेका बासुदेव घिमिरेलगायतका सहसचिवहरुले भने अझैसम्म जिम्मेवारी पाउन सकेका छैनन्। घिमिरेले छाडेपछि कास्कीको प्रमुख जिल्ला अधिकारी बनेका भरतमणि पाण्डे गृह मन्त्रालयमा तानिने सम्भावना बढिरहँदा घिमिरेले भने जिम्मेवारी पाउन सकेका छैनन्। उनी रुपन्देहीको सिडिओ बन्ने प्रयासमा रहेका छन्।

गृहमन्त्री रमेश लेखकले चितवनका सिडिओ इन्द्रदेव यादवलाई गृह मन्त्रालय तानेका छन्। रवि लामिछाने गृहमन्त्री हुँदा इलामबाट चितवन पुगेका उनलाई ५ महिना नपुग्दै लेखकले मन्त्रालय तानिदिएका हुन्। २०६५ सालमा स्वास्थ्य सेवाको हेल्थ असिस्टेन्टबाट सरकारी सेवामा प्रवेश गरी शाखा अधिकृत, उपसचिव र सहसचिव तीनवटै पदमा मधेेेशी कोटाबाट आएका यादव लगातार सिडिओ खानेमा पर्छन्। सुनसरी, रौतहट, सर्लाही, इलाम, चितवन जस्ता जिल्लाको सिडिओ भइसकेका यादव अहिले भने गृह को बरण्डामा पुगेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रदेव यादव सहसचिव, #गोविन्दप्रसाद रिजाल, #प्रकाश पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ