रामकृष्णको अवकाश भएपछि रघुराम सचिवमा उक्लिदै


काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदीले ५ वर्षे उमेद हदका कारण अवकाश पाएपछि उक्त ठाउँमा रघुराम विष्ट बढुवा हुने भएका छन्। सुवेदीले कार्तिक ५ गते सचिवबाट अवकाश पाएका हुन्।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठक वरिष्ठताका आधारमा विष्टलाई सचिवमा बढुवा गर्ने सिफारिस गर्ने निर्णय गरेको हो। अब बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ। हाल गण्डकी प्रदेशको कायममुकाय प्रमुख सचिव रहेका विष्ट त्यहीँ ठाउँमा पदस्थापन हुने सम्भावना छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको सचिव रिक्त भएकाले अब बस्ने मन्त्रिपरिषद्को बैठकले केही सचिवको सरुवा समेत गर्ने देखिन्छ। प्रदेशमा रहेका प्रमुख सचिवलाई संघमा तानेर वरिष्ठ सहसचिवलाई प्रदेशको कायममुकायम प्रमुख सचिव बनाएर पठाउने छ। सचिव टेकनारायण पाण्डे पुर्पक्षका लागि थुनामा परेर निलम्बित भएपछि कायममुकाय दिनु पर्ने अवस्था आएको हो। अहिले भएका सहसचिवमध्ये उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा रहेका सहसचिव बाबुराम अधिकारी वरिष्ठ हुन्। विष्ट कै ‘ब्याची’ अधिकारीलाई नै सरकारले प्रदेशको कायममुकायम प्रमुख सचिवको जिम्मेवारी दिएर पठाउने सम्भावना छ। रघुराम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा महाशाखा प्रमुख भएर समेत काम गरिसकेका सहसचिव हुन्।

प्रदेशबाट संघमा आउने प्रमुख सचिवमा भने डा. हरिप्रसाद लम्साल सबैभन्दा वरिष्ठ हुन्। उनीभन्दा कनिष्ठ गोविन्दबहादुर कार्कीलाई बागमती प्रदेशको प्रमुख सचिवबाट वाणिज्य तथा आपूर्ति सचिव बनाएर लम्साललाई सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको थियो। त्यसैले सरकारले वरिष्ठलाई नै संघमा ल्याउँछ भन्ने चाहिँ छैन। लम्सालसहित कर्णाली प्रदेशका प्रमुख सचिव चूडामणि पौडेल, कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मा, मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौड्याल, गण्डकी प्रदेशका प्रमुख सचिव महादेव पन्थ संघमा आउने कसरतमा छन्।

क्याटेगोरी : समाचार
ट्याग : #बाबुराम अधिकारी, #रघुराम विष्ट, #रामकृष्ण सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ