चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा राप्ती प्रतिष्ठानमा एमबिबिएस पढ्ने ३७ विद्यार्थीलाई पठायाे
काठमाडौं । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने विद्यार्थीलाई भर्नाको लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ। आयोगले कलेज म्याचीङ गर्दै पूर्णछात्रवृत्तिमा एमबिबिएस पढ्ने विद्यार्थीलाई भर्नाका लागि पठाएको हो। विद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बतााए। यस वर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने विद्यार्थीहरु आउन लागेका हुन्।
चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ। जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार लम्सालले जानकारी दिए। उनका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढ्न पाउने छन्। आयोगबाट आउने नामावली अनुसार भर्ना हुने लम्सालको भनाइ छ।
प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमति पाएको हो। हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडीको पठनपाठन भइरहेको छ। अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उनले भने, “दाङको चिकित्सा शिक्षामा यसले ठूलो र महत्वपूर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक विकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसेढुङ्गा सावित हुनेछ।”
यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो। तर, अब वर्षेनी शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ। राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो। राप्ती प्रतिष्ठानमा शैक्षिक फड्को मारेको रजिस्ट्रार लम्सालले बताए।उनले आगामी वर्ष थप तीन स्नातक तहका कार्यक्रमहरू शुरू गरिने तयारी भइरहेको सुनाए।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस