बालेनसँग विवाद भएपछि महानगरबाट बाहिरिएका वसन्तलाई गृहमन्त्री लेखकले बाराको सिडिओ बनाए


काठमाडौं। काठमाडौं महानगरपालिकाको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कर्मचारी भर्ना गर्दा ‘किर्ते’ गरेको फेला परेपछि मेयर बालेन्द्र शाह (बालेन)ले प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई हाजिर गर्न नदिएनन्। महानगरको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीको संयोजकत्वमा गठित छानबिन समितिले उक्त प्रकरणमा उनको संलग्नताको पुष्टि गऱ्यो। बालेनसँग विवाद भएपछि वसन्त काठमाडौं महानगरपालिकाबाट सरुवा लिएर मधेशी आयोग पुगे। अहिले उनलाई गृहमन्त्री रमेश लेखकले बाराको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनाएर पठाएका छन्।

गृह मन्त्रालयले सार्वजनिक गरेको प्रमुख जिल्ला अधिकारी सरुवाको सूचीमा वसन्तको नाम छैन। बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई गृह मन्त्रालय सरुवा गर्ने निर्णय सार्वजनिक भएपनि बाराको प्रमुख जिल्ला अधिकारीमा कसलाई पठाउने भनेर गृह मन्त्रालयले सार्वजनिक गरेको सिडिओको सरुवा सूचीमा नामोनिशान देखिँदैन। तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उनलाई बाराको प्रमुख जिल्ला अधिकारीको रुपमा बिदाई गरिसकेको छ। त्यसैले गृह मन्त्रालयका उच्च अधिकारीहरू वसन्तको सरुवालाई ‘जस्केला’बाट भएको सिडिओ सरुवा भनेर टिप्पणी गर्छन्।

निजामती प्रशासनका चतुर कर्मचारीका रुपमा परिचित वसन्तलाई किर्तेमा कारबाही गर्न बालेनले तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अनुरोध गरेका थिए। त्यसपछि ‘सुरक्षित अवतरण गर्न’ उनी मधेशी आयोग गएका थिए। रवि लामिछाने गृहमन्त्री भएको बेला वसन्त गृह मन्त्रालय भित्रिएका हुन्। गृहमा भित्रिएपछि रविले उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरणकरण तथा व्यवस्थापन प्राधिकरणमा ‘व्यवस्थापन’ गरेका थिए। रविले विपद्‌मा व्यवस्थापन गरेका वसन्तलाई लेखकले बाराको सिडिओ बनाएर पठाइदिए। त्यो पनि उनले निर्णय नै सार्वजनिक नगरी गुपचुप रुपमा बाराको सिडिओ बनाएर पठाएका हुन्।

गृहमन्त्री लेखक पछिल्लो समय कर्मचारी सरुवाको विषयलाई लिएर विवादमा तानिन थालेका छन्। देशमा बाढीपहिरो जस्तो प्राकृतिक विपत्ति परेका बेला ‘भिजिबिलिटी’ पुग्न नससकेको लेखकको विपद्का कर्मचारीलाई सिडिओ बनाएर पठाउन भने ‘भिजिबिलिटी’ पुगेको छ। यस्तै गतिविधिले गर्दा गृहमन्त्री लेखकको साख गिर्दो अवस्थामा देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : ## वसन्त अधिकारी, #गृहमन्त्री रमेश लेखक

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ