नेपाल प्रहरी अस्पताल प्रमुख डा. ह्योजु बढुवा


काठमाडौं। नेपाल प्रहरी अस्पतालको प्रमुखमा डा. सुन्दरप्रसाद ह्योजुको बढुवा भएका छन्। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रहरी नायब महानिरीक्षक (डिआईजी) डा. ह्योजुलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ।डा. ह्योजु एआईजी बढुवा भएसँगै नेपाल प्रहरी अस्पताल, महाराजगन्जको प्रमुख बनेका छन्।

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले गत कार्तिक ४ गते डिआईजी डा. ह्योजु एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। एआईजीमा बढुवाका लागि सिफारिस भएका डिआईजी डा. ह्योजु १३ गते एआईजीमा बढुवा भएका हुन्।

नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह, स्वास्थ्य उप-समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पद संख्या १ (एक) मा बढुवा गर्न मिति २०८१/०७/०४ गतेको बढुवा समितिको सिफारिस बमोजिम मन्त्रिपरिषद्ले डा. ह्योजुलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी अस्पताल प्रमुख रहेकी एआईजी डा. आशा सिंहले पदबाट अवकाश पाएपछि उक्त ठाउँमा डा. ह्योजुले बाजी मारेका छन्। उमेरहदका कारण डा. सिंह साउन १० गतेबाट सेवानिवृत्त भएपनि अहिलेसम्म प्रहरी अस्पतालले नेतृत्व पाउन सकेको थिएन। ३ महिनापछि रिक्त रहेको नेपाल प्रहरी अस्पताल प्रमुखमा डा. ह्योजु बढुवा भएका हुन्। डा. ह्योजुसँगै मन्त्रिपरिषद्को बैठकले किरण राणालाई पनि एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय ह्योजु र राणालाई प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन समेत गरेका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायब महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दरप्रसाद ह्योजु दर्ज्यानी चिन्हद्वारा सुशोभित भएको प्रहरी मुख्यालयले जनाएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उनले चर्चा गरेका छन्।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #एआईजी किरण राणा, #डा. आशा सिंह, #डा. सुन्दरप्रसाद ह्योजु, #नेपाल प्रहरी अस्पताल, #नेपाल प्रहरी अस्पताल प्रमुख डा. ह्योजु

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ