यी हुन् सहसचिवहरू सिडिओ बन्न मरिहत्ते गर्ने आकर्षक जिल्ला

काठमाडौं, मोरङ र रूपन्देहीको सिडिओ जान सहसचिवहरुबीच मारामार


काठमाडौं। गृह मन्त्रालयले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ)को पदस्थापन वा सरुवा वा काजको लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गमा जिल्लाहरू वर्गीकरण गरेको छ। गृहले सहसचिव प्रमुख जिल्ला अधिकारी भएर जाने काठमाडौं, सहित १७ वटा जिल्लालाई ‘क’ वर्गमा राखेको छ। त्यस्तै इलामसहित २६ जिल्लालाई ‘ख’ वर्ग र अछामसहित १८ जिल्लालाई ‘ग’ वर्गका वर्गीकरण गरेको छ।

ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, रसुवा, म्याग्दी, कालीकोट, हुम्ला, मुग डोल्पा, मनाङ, मुस्ताङ, दार्चुला, बझाङ, बाजुरा, रुकुम पूर्व र रुकुम पश्चिम गरी १६ जिल्लाबाहेक अरू जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सहसचिवको दरबन्दी बनाइएको छ। उपसचिवको दरबन्दी हुँदा पनि फरक नपर्ने जिल्लामा समेत सहसचिवको पद बढाउन दरबन्दी सिर्जना गरेकाले त्यस्ता जिल्लामा सहसचिवहरू जान नमानेको देखिन्छ।

गृह मन्त्रालयले काठमाडौं, कास्की, कैलाली चितवन, झापा, पर्सा, बाँके, मकवानपुर, मोरङ, रुपन्देही, ललितपुर, सुनसरी, धनुषा, भक्तपुर, काभ्रेपलाञ्चोक, दाङ र सुर्खेतलाई सहसचिव प्रमुख जिल्ला अधिकारी हुने ‘क’ वर्गको जिल्लामा राखेको छ।

गृह मन्त्रालय स्रोतका अनुसार काठमाडौं, मोरङ र रुपन्देही जिल्लामा सिडिओ भएर जान सहसचिवहरू मरिहत्ते गर्दै आएका छन्। ती जिल्लामा सिडिओ भएर जान इच्छा प्रकट गर्ने सहससचिवहरुको ‘डिमाण्ड’का आधारमा स्वास्थ्य लाइभले सिडिओका लागि काठमाडौं, मोरङ र रुपन्देहीलाई ‘टप थ्री’ जिल्लामा राखेको हो। त्यसपछि सिडिओ बनेर जान सहसचिवको रोजाइमा कास्की, पर्सा, ललितपुर, झापा, सुनसरी, चितवन, काभ्रेपलाञ्चोक र भक्तपुर जिल्ला पर्ने गर्छन्।

पहिला काठमाडौं र मोरङपछि काठमाडौंको ‘लाइफलाइन’ मानिएको रक्सौलसँग सीमाना जोडिएको पर्सा जिल्लामा सिडिओ भएर जान सहसचिवहरूको मारामार हुने गर्थ्यो।किनकी वीरगञ्ज भन्सारमै अर्थले सहसचिव पठाउँदै आएको छ। अहिले पर्सालाई रुपन्देही र कास्कीले उछिनेको पाइन्छ।

पहिला रुपन्देहीमा कास्की, ललितपुर, झापा, सुनसरी, चितवन, काभ्रेपलाञ्चोकपछि मात्र सहसचिव जान खोज्थे। अहिले बेलहिया नाकामा चाप बढ्नु र गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायत थप पूर्वाधार निर्माण भएपछि रुपन्देही सिडिओका लागि आकर्षक जिल्ला बनेको गृहका अधिकारीहरू बताउँछन्। ललितपुर र भक्तपुरमा सहसचिव सिडिओ भएर जान खोज्नुको प्रमुख कारण चाहिँ उपत्यकाभित्रका जिल्ला भएर हो। अहिले पनि भक्तपुर र काभ्रेपलाञ्चोक कुन जिल्लामा सिडिओ भएर जाने भनेर सहसचिवहरुलाई सोध्यो भने काभ्रेपलाञ्चोक नै रोज्ने गरेको गृह मन्त्रालयको प्रशासन महाशाखामा बसिसकेका एक सहसचिवले स्वास्थ्य लाइभलाई बताए। कोशी प्रदेश अन्तर्गत रहेका पूर्वी तराईका जिल्ला झापा र सुनसरीमा पनि सहसचिवहरु सिडिओ भएर जान उत्तिकै ‘सोर्सफोर्स’ लगाउने गरेका छन्।

केन्द्रबाट नजिक रहेको र प्रदेशको राजधानी भएकाले पनि मकवानपुर र धनुषा पनि सिडियोका लागि आकर्षक जिल्ला हुन्। दाङ, कैलाली र सुर्खेत पनि सिडिओ भएर जान सहसचिवहरू उत्तिकै लागिपर्ने गरेका छन्। बाँके पनि सहसचिवका लागि सिडिओ बनेर जान आकर्षक जिल्ला हो।

गृह मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारीका लागि ‘ख’ वर्गमा वर्गीकरण गरेको जिल्ला बारामा पनि सिडिओ भएर जान निकै दौडधुप हुने गरेको छ। बाराको सिडिओ नपाए सहसचिवहरुले उदयपुर, सिन्धुपाल्चोक, सिन्धुली, महोत्तरी, गोरखा, धनकुटा, इलाम, नवलपरासी पूर्व र पश्चिम जस्ता जिल्लाहरू खोज्ने गरेको गृहका अधिकारीहरू बताउँछन्। कञ्चनपुर, धादिङ, दोलखा, नुवाकोट, सिन्धुली, सप्तरी, सिराहा, सर्लाही, रौतहटलगायत जिल्ला सहसचिवहरु खोजेर सिडिओ जाने जिल्लामा पर्छन्।

गृह मन्त्रालयले सहसचिव प्रमुख जिल्ला अधिकारीका लागि लागि ‘ख’ वर्गका राखेका रामेछाप, डोटी जस्ता जिल्लामा पनि पहुँचवाला उपसचिवलाई सिडिओ बनाएर पठाएको छ। यसले गृह मन्त्रालयमा बेथितिको चरम अवस्था देखाउँछ।

सहसचिवका लागि ‘ग’ वर्गमा राखिएको संखुवासभा, भोजपुर, लमजुङ, खोटाङ, गुल्मी, अर्घाखाँची, जुम्लालगायतका जिल्लामा सिडिओ भएर जान पनि सहसचिवहरु खासै समस्या देखिएको छैन। तर, उपसचिवलाई पठाउने नाममा गृह मन्त्रालयले नै सहसचिव नपठाउन चलखेल गर्दै आएको छ। उपसचिव सिडिओ भएर जाने रसुवा, तेह्रथुम, सोलुखुम्बु, म्याग्दी जस्ता जिल्ला आकर्षक मानिन्छन्।

अहिले सहसचिवका लागि सबैभन्दा आकर्षक मानिएको काठमाडौं जिल्लाको सिडिओ जुम्लाका जयनारायण आचार्य रहेका छन्। दाङ, कास्की, ललितपुर, सुनसरी जस्ता जिल्लाको प्रमुख जिल्ला अधिकारी भइसकेका आचार्य कारागार व्यवस्थापन विभागको महानिर्देशक हुँदै काठमाडौं सिडिओ बन्न सफल भएका हुन्। गृह मन्त्रालयमा ‘बरू गृह सचिव बन्न सजिलो छ काठमाडौंको सिडिओ बन्न त्योभन्दा गाह्रो छ’ भन्ने गरिन्छ। पर्यटन विभागको महानिर्देशक हुँदा नक्कली ‘सर्टिफिकेट’को भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि सहसचिव आचार्यले सरकारी सेवाबाट बिट मारेका थिए। पछि सर्वोच्च अदालतमा उक्त फैसलाविरुद्ध पुनरावलोकन गर्न गएपछि उनले फेरि मुद्दा जितेर सरकारी सेवामा फर्किए। त्यसपछि गृह छिरेका आचार्य ‘क’ वर्गका आकर्षक जिल्लाहरूको सिडिओ बन्न सफल भएका छन्। काठमाडौं कै सिडिओ बनेपछि आचार्य कति शक्तिशाली सहसचिव रहेछन् भन्ने कुरा स्पष्ट देखिएको छ।

काठमाडौंपछि सिडिओका लागि आकर्षक मानिएको मोरङको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई रहेका छन्। उपत्यकाको भक्तपुरको प्रमुख जिल्ला अधिकारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक समेत भइसकेका भट्टराई मोरङको सिडिओ बन्न सफल भएका छन्। पहिला-पहिला मोरङको सिडिओ भएपछि काठमाडौंको सिडिओ बनाउने ‘ट्रेन्ड’ थियो। अहिले त्यो ट्रेन्ड भत्किदै गएको छ। मोरङको सिडिओको आकर्षक भने घटेको छैन।

काठमाडौं र मोरङपछि आकर्षक मानिएको रुपन्देहीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी भर्खरै संखुवासभाली बासुदेव घिमिरेले सम्हालेका छन्। ‘क’ वर्ग कै कास्कीको प्रमुख जिल्ला अधिकारी हुँदा केही समय बिदा लिएर अमेरिका पढ्न गएका घिमिरे फर्किएर आएपछि रुपन्देही जस्तो जल्दोबल्दो जिल्लाको कमाण्ड पाउन सफल भएका छन्। मकवानपुर, चितवन, रुपन्देही जस्ता आकर्षक जिल्लाको सिडिओ भएका सहसचिव भरतमणि पाण्डे अहिले कास्कीको प्रमुख जिल्ला अधिकारी छन्। उनी सबै दल र पक्षलाई मिलाउन ‘खप्पिस’ रहेको गृह मन्त्रालयभित्र टिप्पणी हुने गरेको छ। 

रुपन्देहीका सिडिओ गणेश अर्याल पर्साको प्रमुख जिल्ला अधिकारी बनेर गएका छन्। गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख छविलाल रिजाल पर्सा जान खोजेपनि प्रशासन महाशाखामा बस्न खोजेका रमेश ढकाल ललितपुरको सिडिओ बनेर गएपछि ललितपुर आउन खोजेका गणेश पर्सा जान सफल भएका हुन्। सिडिओका लागि ललितपुरभन्दा पर्सा आकर्षक जिल्ला हो। तर उपत्यकाको जिल्ला भएकाले ललितपुर रोजाइमा पर्ने गरेको छ। रमेशलाई कास्कीको सिडिओमा पठाएर भरतमणिलाई मन्त्रालय तान्ने चर्चा थियो। तर, उनी त्यहिँ टिक्न सफल भएका छन्। त्यसैले रमेश ललितपुर गएपछि गणेश पर्सा गएका हुन्।

झापाको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र सुनसरीको प्रमुख जिल्ला अधिकारी रामचन्द्र अधिकारी रहेका छन्। सिडिओका लागि झापा र सुनसरी उत्तिकै आकर्षक जिल्ला हुन्। हुमकला पाण्डे सिडिओ हुँदा ‘टाइट’ बनेको सुनसरी प्रशासन जयनारायण र रामचन्द्र आएपछि खुकुलो र कमजोर बन्दै गएको स्थानीय सरोकारवालाहरू सुनाउँछन्।

झापा, सुनसरीपछि चितवन, काभ्रेपलाञ्चोक र भक्तपुरमा सिडिओ भएर जान सहसचिवहरू दौडधुप गर्ने गरेका छन्। अहिले चितवनको सिडिओ प्रकाश पौडेल, काभ्रेपलाञ्चोकको सिडिओ उमेशकुमार ढकाल रहेका छन्। पौडेल र ढकाल त्योभन्दा आकर्षक जिल्लामा जान खोजेपनि उनीहरूलाई तिकडम गरेर ती जिल्लामा पठाइएको गृह मन्त्रालयभित्र चर्चा छ। डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल भने हालै सिडिओकै हैसियतमा भक्तपुर छिरेका छन्।

सिडिओका लागि आकर्षक मानिएको अर्को जिल्ला मकवानपुरमा तीर्थराज चिलुवाल, धनुषामा रामुराज कडरिया र दाङमा कृष्णप्रसाद लम्साल प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन्। त्यस्तै ‘क’ वर्गकै जिल्लामा पर्ने कैलालीको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्रकुमार मिश्र र बाँकेको प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र सुर्खेतको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य हुन्।

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी बन्नका लागि ‘ख’ वर्गमा राखेको बारा जिल्ला पनि सहसचिवका लागि आकर्षक जिल्ला रहँदै आएको छ। बाराको प्रमुख जिल्ला अधिकारी बनेर वसन्त अधिकारी गएका छन्। वसन्त चतुर प्रशासकका रूपमा परिचित छन्। त्यसपछि आकर्षक मानिएको उदयपुरको प्रमुख जिल्ला अधिकारीमा हरिप्रसाद घिमिरे, महोत्तरीमा लालबहादुर कवारी, धनकुटामा टुवराज पोखरेल, इलाममा कल्पना श्रेष्ठ, गोरखामा पुण्य ब्रिकम पौडेल सिडिओ रहेका छन्।

पहिला विभिन्न जिल्लामा सिडिओ भएर आएका अनुभवीलाई मात्र गृह मन्त्रालयका महाशाखाको जिम्मेवारी दिने गरिन्थ्यो। अहिले गृहको अनुभव नै नभएका र सिडिओको ‘अनुहार’ नै नदेखेका आलाकाँचा सहसचिवलाई मन्त्रालयको महाशाखाको नेतृत्व दिँदा गृह प्रशासन कमजोर बन्दै गएको टिप्पणी हुन थालेको छ। सिडिओभन्दा ‘जुनियर’ सहसचिव महाशाखा प्रमुख हुँदा समन्वयमा समेत समस्या परिरहेको गृहका उच्च अधिकारीहरू नै बताउँछन्। यसले व्यक्तित्वको टकराव हुने गरेको ती अधिकारीको अनुभव छ।

पछिल्लो समय गृह मन्त्रालयको साख मात्र होइन गृहमा छिर्नेबित्तिकै महाशाखा प्रमुख र आकर्षक जिल्लामा सिडिओ बनाएर पठाउँदा गृह र सिडिओको सान र मान दुबै गिर्दो अवस्थामा देखिन्छ। गृह प्रशासन कमजोर हुँदा मुलुकको शान्ति तथा सुव्यवस्था र सुशासनमा समेत असर देखिन थालेको छ। यस्तो अवस्था निम्त्याउन ओली सरकारका गृहमन्त्री रमेश लेखक नै जिम्मेवार देखिएका छन्। गृह प्रशासनलाई कमजोर बनाउन खोज्दा मुलुकको आन्तरिक व्यवस्थामा समेत चुनौती थपिनेमा विज्ञहरू चिन्ता प्रकट गर्न थालेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : ## वसन्त अधिकारी, #उमेशकुमार ढकाल, #कृष्णप्रसाद लम्साल, #खगेन्द्रप्रसाद रिजाल, #गणेश अर्याल, #गृहमन्त्री रमेश लेखक, #जयनारायण आचार्य सहसचिव, #धर्मेन्द्रप्रसाद मिश्र, #प्रकाश पौडेल, #प्रेमप्रसाद भट्टराई, #बन्धुप्रसाद बाँस्तोला, #बासुदेव घिमिरे, #रमेश ढकाल, #रामचन्द्र तिवारी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ