अन्त:शुल्क स्टिकर खरिद घोटालामा विकल पौडल र सफल श्रेष्ठ दोषी ठहर

निलम्बित मुख्यसचिव डा. अर्याल, सहसचिवद्वय शाक्य र पाण्डेसहित ९ प्रतिवादीले पाए सफाइ


काठमाडौं। अन्त:शुल्क स्टिकर खरिद घोटालामा विकल पौडल र सफल श्रेष्ठलाई विशेष अदालतले दोषी ठहर गरेको छ। विशेष अदालतले उनीहरुलाई अन्त:शुल्क स्टिकर खरिद घोटाला भएको भ्रष्टाचार मुद्दामा उनीहरूलाई दोषी ठहर गरेको हो।

सफल श्रेष्ठ

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशद्वय खुशीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका निर्देशक सफल श्रेष्ठलाई दोषी ठहर गरेको हो। उक्त मुद्दाका प्रतिवादी निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल, सहसचिवद्वय रितेशकुमार शाक्य र टंकप्रसाद पाण्डेलाई भने विशेष अदालतले सफाइ दिएको छ। उनीहरूको अन्तःशुल्क स्टिकरमा भएको भ्रष्टाचारमा संलग्नता पुष्टि हुन नसकेको भन्दै विशेष अदालतले सफाइ दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याललाई तात्कालीन सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको हैसियतमा, शाक्यलाई तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक र पाण्डेलाई उपमहानिर्देशकको हैसियतमा सार्वजनिक संस्थाको सम्पत्ति हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको थियो । त्यस्तै उक्त मुद्दाका प्रतिवादीहरु आन्तरिक राजश्व विभागका निर्देशक गणेश विक्रम शाही, शाखा अधिकृत रविन्द्रप्रसाद पौडेल र हरिवल्लभ घिमिरे तथा लेखा अधिकृत विष्णुप्रसाद गौतमले पनि विशेष अदालतबाट सफाइ छन्। त्यसैगरी खरिद परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्ट सेल प्रालिका निर्देशक केशव शर्माले पनि सफाइ पाएका हुन्।

अख्तियारले गत असार ९ गते तत्कालीन मुख्यसचिव डा. अर्याल, विकल पौडेलसहित एघार जनालाई अन्त:शुल्क स्टिकर खरिद घोटालामा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। एघारमध्ये २ प्रतिवादी दोषी ठहर भएका छन् भने ९ जना प्रतिवादीले भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका हुन्।

क्याटेगोरी : समाचार
ट्याग : #टंकप्रसाद, #निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल, #रितेशकुमार शाक्य, #विकल पौडेल, #सफल श्रेष्ठ, #सार्वजनिक खरिद विज्ञ शक्तिप्रसाद श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ