नोबेलका डाइरेक्टर डा. राजेश नेपालले आमाको स्मृतिमा पोशाक र शैक्षिक सामग्री वितरण गरे
काठमाडौं। नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल, विराटनगरका निर्देशक (डाइरेक्टर) डा. राजेश नेपाल एकदमै व्यस्त चिकित्सक हुन्। मुटुरोग विशेषज्ञ डा. राजेशलाई देखाउन इमर्जेन्सीदेखि, ओपीडीसम्म बिरामीहरूको भीड लाग्ने गरेको छ।
डा. राजेश मुटु रोग विशेषज्ञका रूपमा प्रख्यात डाक्टर भएकाले उनलाई ओपीडीमा देखाउन दैनिक सयौंको संख्यामा बिरामीहरु नोबेल अस्पतालमा पुग्ने गरेका छन्। त्यसैले डा. राजेशलाई फुर्सद निकाल्न मुस्किल पर्छ। यस्तो व्यस्तताका बाबजुद पनि डा. राजेश सामाजिक काममा लाग्दै आएका छन्। शनिबार मात्र उनी माता दुर्गादेवी नेपालको स्मृतिमा पोशाक तथा शैक्षिक सामग्री वितरण गर्न विराटनगरबाट भोजपुर अरुण गाउँपालिकास्थित प्याउलीमा रहेको अरूण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानमा पुगेका हुन्।
अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रमकाबीच डा. राजेशले माता दुर्गादेवी नेपालको स्मृतिमा पोशाक तथा शैक्षिक सामग्री वितरण गरेका हुन्।
डा. राजेशको व्यक्तिगत सहयोगमा अरुण बहुउद्देश्यीय आध्यात्मिक प्रतिष्ठानका ५० जना विद्यार्थीहरूलाई ५० थान ‘ट्रयाकसुट’ र शैक्षिक सामग्री वितरण गरेको प्रतिष्ठानका सचिव आचार्य सोमनाथ कोइरालाले जानकारी दिए। त्यसका साथै आध्यात्मिक परिचर्चा कार्यक्रम पनि सम्पन्न भएको उनको भनाइ छ।
पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. राजेशले आगामी दिनमा पनि संस्था मिलेर थुप्रै सामाजिक कार्य गरिने बताएका छन्।
अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठान अध्ययनरत विद्यार्थीहरुको शैक्षिक उन्नतिका लागि जे आवश्यक परे पनि सहयोग गर्ने डा. राजेशको बचनबद्धता छ। धर्मपत्नीसहित आमाको जन्म थलो पुगेर सामाजिक योगदान गरेका डा. राजेशले उक्त कार्यलाई निरन्तरता समेत दिने भएका छन्।
पोशाक तथा शैक्षिक सामग्री वितरण कार्यक्रमको अध्यक्षता अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठानका अध्यक्ष चूडामणि दाहालले गरेका थिए। उक्त कार्यक्रमको प्रमुख अतिथि शालिकराम खत्री, विशेष अतिथि नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपाल, अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद पराजुलीले गरेका थिए।
अतिथिको रुपमा अरुण गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष कुमार कार्की, स्वास्थ्य शाखा संयोजक रूपक पुलामी, कृषि शाखा प्रमुख रविन्द्र सापकोटा, प्याउली र मऱ्याङडाँडा प्रहरी चौकीका इन्चार्ज कार्यक्रममा सहभागी भएका थिए। उक्त कार्यक्रममा गाउँ कार्यपालिका सदस्यहरु, स्थानीय समाजसेवी, बुद्धिजीवीहरु तथा भद्रभलाद्मीहरू,अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठानका पदाधिकारीहरु समेत उपस्थित रहेका थिए। कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिलगायतले डा. राजेशले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले आगामी दिनमा पनि त्यस्तै सहयोगको अपेक्षा गरेका छन्।
अरुण गाउँपालिकाका स्थानीय मिनप्रसाद गौतमले पनि अरुण बहुउद्देश्यीय अध्यात्मिक प्रतिष्ठानलाई आर्थिक सहयोग प्रदान गरेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस