काठमाडौंमा फोहोरमैलाको अर्बौं पैसाको हिसाबकिताब खोज्ने बाटो खुल्यो


काठमाडौं। काठमाडौं महानगरपालिकालाई फोहोरमैलाको अर्बौं पैसाको हिसाबकिताब खोज्ने बाटो खुलेको छ। काठमाडौं महानगरपालिकालाई फोहोरमैला व्यवस्थापनको ठेक्का लगाउन अदालतले नै साथ दिएको हो। काठमाडौंको फोहोर व्यवस्थापनको जिम्मा लिने तयारी गरिरहेको एक निजी कम्पनी नेपवेष्ट प्रालिले काठमाडौं महानगरपालिकाविरुद्ध उच्च अदालत पाटनमा हालेको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि महानगरलाई फोहोरमैला व्यवस्थापनको ठेक्का लगाउन सहज भएको हो। 

काठमाडौं महानगरपालिकाले २०८१ असोज २४ गते फोहोरमैला संकलनका लागि पारदर्शी ढंगले ठेक्का आह्वान गरेको थियो। उक्त ठेक्का पक्रिया रोक्न नेपवेष्ट प्रालि उच्च अदालत पाटन पुगेकाे देखिन्छ। उच्च अदालत पाटनका न्यायाधीश श्यामकुमार भट्टराई र टीकाराम आचार्यको संयुक्त इजलासले नेपवेष्टको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

 

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार काठमाडौं महानगरपालिकामा फोहोरमैला संकलन गर्ने कम्पनीले महानगरपालिकासँग अनुमति समेत लिएका छैनन्। ती कम्पनीले जनताबाट उठाएको पैसाबाट महानगरलाई राजस्व समेत नतिरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

महालेखापरीक्षकको प्रतिवेदनलाई समेत मध्यनजर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोरमैला व्यवस्थापनको ठेक्का लगाउने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। त्यसलगत्तै महानगरले फोहोरमैला संकलनको ठेक्कासम्बन्धी बोलपत्र आह्वान गरेको थियो। उक्त विषयलाई लिएर नेपवेष्ट उच्च अदालत पाटन पुग्यो। अदालत पनि तत्कालका लागि महानगर कै पक्षमा उभिएपछि फोहोरमैला संकलनको ठेक्काले एउटा निकास पाउने भएको छ। 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ