अभिभावकविहीन बनेको इनरूवा जिल्ला अस्पताल


समाचार टिप्पणी

काठमाडौं। इनरुवास्थित सुनसरीको जिल्ला अस्पताल पछिल्लो समय अभिभावकविहीन जस्तै बनेको छ। मेडिकल सुपरीटेण्डेन्ट (मेसु) कुट्नेदेखि बिरामीको उपचारमा लापरबाही भएका घटना सार्वजनिक हुँदा समेत अस्पताल विकास समिति भूमिकाहीन जस्तो देखिएको छ। जिल्ला अस्पताल सुनसरीको विकास समितिको नेतृत्वमा राजन मेहता रहेका छन्। जिल्ला समन्वय समितिको सभापतिको हैसियतले उनले अस्पताल विकास समितिको नेतृत्व गर्ने मौका पाएका हुन्। तर, उनले अस्पतालको विकासमाभन्दा अस्पातलको नेतृत्वमा कसलाई ल्याउने भन्ने राजनीतिमा बढी चलखेल गर्दै आएका छन्। अस्पताललाई उनले राजनीति गर्ने थलो बनाएको भन्दै चर्को आलोचना हुन थालेको छ।

इनरुवाका निमित्त मेसु डा. सन्तोष राईले कुटाई खाँदा अस्पताल विकास समितिका प्रमुख रहेका मेहता चुइक्क बोलेनन्। बिरामीको उपचारमा लापरबाही र अस्पतालमा समयमा स्वास्थ्यकर्मी उपस्थिति नहुने गरेको सेवाग्राहीको गुनासो आइरहँदा पनि उनी वेखबर देखिन्छन्।

इनरुवा अस्पतालका मेसु डा. राईलाई नेपाल कांग्रेस इनरुवा नगर समितिका सचिव खेमराज थापाले कुटपिट गरे। उनी इनरुवा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुमन थापाका सहोदर भाइ समेत हुन्। अस्पतालका मेसु कुटिदा पनि स्वास्थ्यकर्मीको सुरक्षाका लागि विकास समितिका प्रमुख रहेका मेहता मौन रहे। उनी राईलाई हटाएर श्रेया पंगेनीलाई मेसु बनाउन चाहन्थे भन्ने इनरुवाभरि हल्ला छ। मेहता कांग्रेसबाट इनरुवा नगरपालिकाको मेयर समेत भइसकेका व्यक्ति हुन्। उनको ध्यान अस्पताल सुधारमा थियो भने मेयर हुँदै सक्दो गर्थे। तर, त्यस्तो अवस्था देखिदैन। मेसु कुट्ने कांग्रेस नेता थापा अहिले ३५ हजार धरौटीमा छुटिसकेका छन्। इनरुवामा गुण्डाराज मौलाउँदै गएको आम नागरिकको चिन्ता छ।

सुनसरीको जिल्ला अस्पतालमा कुटाई खाने डरले केही पनि चिकित्सक जान मान्दैनन्। राईभन्दा अगाडि पनि कुटाई खाने चिकित्सक थिए। उक्त अस्पतालमा कार्यरत चिकित्सक टुसार झाले पनि कुटाई खाएका थिए। मेसुमा भने कुटाई खाने चिकित्सक राई नै पहिलो व्यक्ति हुन्। इनरुवा अस्पातालमा चिकित्सकका लागि सुरक्षित ठाउँ हो भन्ने सन्देश दिन चाहन्थे भने डाक्टर कुट्ने कांग्रेस नेतालाई तत्काल कानुनी कारबाहीका लागि अस्पताल विकास समितिका पदाधिकारीले पहल लिन्थे तर उनीहरु जाहेरी दबाउन लागिपरे। यसले पनि इनरुवा जिल्ला अस्पताल बदनाम भएको छ। पछिल्लो समय जिल्ला अस्पताल अभिभावकविहीन जस्तै बनेको टिप्पणी हुन् थालेको छ। उक्त घटनामा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी समेत चुकेका छन्। यो विषयमा अस्पताल विकास समिति र कोशी प्रदेश सरकार गम्भीर हुनैपर्छ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ