नेपाल प्रहरीका ३ एसएसपी डाक्टर डिआईजीमा बढुवाका लागि सिफारिस


काठमाडौं। नेपाल प्रहरीका ३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डाक्टर प्रहरी नायव महानिरीक्षक (डिआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। नेपाल प्रहरी अस्पतालमा कार्यरत एसएसपी डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे) डिआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्।

बढुवा समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकालले हस्ताक्षर गरेर प्रकाशित गरेको बढुवा सिफारिसको सूची अनुसार डा. पौडेल पहिले नम्बरमा डा. यादव दोस्रो र डा. दाहाल तेस्रो नम्बरमा बढुवाका लागि सिफारिस भएकी छिन्।

‘नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पद संख्या ३ (तीन)मा बढुवा गर्न मिति २०८१/०८/०२ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह चिकित्सकतर्फको प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाको लागि सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।’, एआईजी ढकालद्वारा हस्ताक्षरित बढुवा सिफारिस सूची प्रकाशित गरिएको सूचनामा उल्लेख छ।

उक्त प्रक्रिया पूरा भएपछि ३ एसएसपी नेपाल प्रहरी अस्पतालको डिआईजीमा बढुवा हुनेछन्। नेपाल प्रहरी अस्पतालमा ५ जना डिआईजीको दरबन्दी छ। डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेशकुमार ठाकुर नेपाली प्रहरी अस्पतालमा डिआईजी पदमा कार्यरत छन्। प्रहरी अस्पतालका एसएसपी डा. पौडेल, डा. यादव र डा. दाहाल पनि डिआईजीमा बढुवा भएपछि ५ जना हुनेछन्।

क्याटेगोरी : समाचार
ट्याग : #डा. दामोदर पौडेल डिआईजी, #डा. मनोजकुमार यादव डिआईजी, #डा. संजिता दाहाल (घिमिरे) डिआईजी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ