बैकुण्ठले मुख्यसचिवमा अर्याल बन्धुलाई सहजै बाटो छाड्लान कि पुनर्स्थापित हुने प्रयास गर्लान्?
काठमाडौं। कानुनी दृष्टिकोणबाट हेर्दा नेपालमा अहिले दुई जना मुख्यसचिव छन्। भ्रष्टाचार मुद्दाबाट सफाइ पाएर निलम्बन फुकुवा भएका डा. बैकुण्ठ अर्याल र उनी निलम्बित भएको बखतमा मुख्यसचिव भएका एकनारायण अर्याल गरी दुई जना मुख्यसचिव पदमा रहेका छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव हुँदा सुरक्षण मुद्रण विकास समितिको अध्यक्षको हैसियतमा अन्तःशुल्क स्टिकर छपाई प्रकरणम भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। गत ९ असारमा भ्रष्टाचार मुद्दा लागेपछि उनी निलम्बनमा परेका थिए। विशेष अदालतले कार्तिक १४ गते निलम्बित मुख्यसचिव बैकुण्ठलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको छ।
बैकुण्ठको निलम्बन फुकुवा भएपछि उनको ठाउँमा मुख्यसचिव बनेका एकनारायण अर्यालले हतारहतार राष्ट्रिय योजना आयोगका रमाना पठाइ दिएका थिए। मन्त्रिपरिषद्को बैठकले बैकुण्ठ दरबन्दी राष्ट्रिय योजना आयोगको सिर्जना गरी उनलाई सरुवा गरेर अर्को मुख्यसचिव बनाएको थियो। बैकुण्ठ मुख्यसचिवमै फिर्ता हुने सम्भावना देखेर चलाखीपूर्ण ढङ्गले उनको रमाना राष्ट्रिय योजना आयोगमा पठाएको देखिन्छ। उनी राष्ट्रिय योजना आयोगमा हाजिर समेत भइसकेका छन्। रोचक पक्ष त अख्तियारले ‘डामेर’ विशेष अदालतबाट सफाइ पाएका मधुकुमार मरासिनीले उस्तै नियति भोगेका बैकण्ठलाई राष्ट्रिय योजना आयोगमा हाजिर गराएका छन्।
बैकुण्ठले अब के गर्लान्?
पूर्वमुख्यसचिव विमल कोइरालाको भनाई अनुसार बैकुण्ठ जुन पदमा हुँदा निलम्बनमा परेका थिए अदालतबाट सफाइ पाएपछि त्यहिँ पदमा फिर्ता हुन सक्छन्। अर्थात् भ्रष्टाचार मुद्दा लागेपछि मुख्यसचिवबाट निलम्बित भएका बैकुण्ठ अदालतबाट सफाइ पाएपछि मुख्यसचिव पदमै बहाली हुने कानुनी अधिकार राख्छन्। उनी राष्ट्रिय योजना आयोगमा हाजिर भएपनि अदालत गए भने निलम्बन पूर्वको पद मुख्यसचिवमा पुनर्स्थापित निश्चित जस्तै छ।
विशेष अदालतमा भ्रष्टाचार मुद्दा खेपेको टिमसँग राजीनामा दिने मनस्थिति देखाएका बैकुण्ठलाई विश्वासपात्रहरूले भने अदालत गएर साबिक कै पदमा पुनर्स्थापित हुन सल्लाह दिएका छन्। कानुन र अदालत राम्रोसँग बुझेका चतुर प्रशासन बैकुण्ठ अदालत गएर पुन: मुख्यसचिवमै फिर्ता हुने सम्भावना पनि जीवितै छ। बैकुण्ठले अर्यालबन्धु एकनारायणलाई सहजै नछाड्ने उनी निकटहरू दाबी गर्छन्। उनले केही नियुक्ति पाउने सर्तमा मात्र छाड्ने उनीहरूको बुझाइ छ।
त्यसो त अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैकुण्ठविरुद्ध अर्को भ्रष्टाचारको मुद्दा पनि तयारी हालतमा राखेको बुझिन्छ। अख्तियारले बैकुण्ठलाई आधा दर्जन बढी अनियमितताक ‘केस’ बयान लिइसकेको छ। विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका विकल पौडेलसँग बैकुण्ठ जोडिएका विषयमा अख्तियारले मुद्दा लाने उच्च सम्भावना देखिन्छ। तर, मुख्यसचिवमा पुनर्स्थापित हुने बैकुण्ठको हकमा भने उनले चाल्ने कदममा निर्भर हुन्छ। यसले मुख्यसचिवमा अर्यालबन्धुको ‘म्युजिकल चेयर’ हुने जोखिम बढेको हो। बैकुण्ठले मुख्यसचिवमा अर्याल बन्धुलाई सहजै बाटो छाड्लान् कि पुनर्स्थापित हुने प्रयास त्यो भने हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस