मर्मतसम्भार गर्न लगिएको एम्बुलेन्स ६ लाख खर्चेर धोईपखाली गरेर मात्रै ल्याइएको आरोप
इनरुवा । इनरुवा ६ स्थित मधेशा स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स मर्मतसम्भारका नाममा धोई पखाली गरेर मात्रै ल्याएर मर्मतको नाममा ६ लाख रुपैयाँको बिल बनाएको आरोप लागेको छ। मधेशा स्वास्थ्य चौकीमा रहेको बा १२ च २९६ नम्बरको टाटा सुमो कम्पनीको सो एम्बुलेन्स सम्बन्धित सरोकारवालालाई थाहै नदिई इनरुवा नगरपालिकाबाट मर्मत सम्भारका नाममा समानिकरण अनुदानको रकम खर्च देखाएर बिल मात्रै बनाइएको आरोप लागेको हो ।
अघिल्लो आर्थिक वर्षमा एम्बुलेन्स मर्मतसम्भार गर्नुपर्ने अवस्था आएपछि मधेशा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अन्तर्गत रहेको एम्बुलेन्स संचालक समितिले इटहरीमा रहेको सिप्रदी वर्कसपमा लगत इष्टिमेट गराएको थियो । समितिका संयोजक गोपाल बस्नेतका अनुसार चालु अवश्थामा रहेको एम्बुलेन्स थप मर्मतसम्भार गरेर चलाउँनका लागि सिप्रदी वर्कसपले ४ लाख म मूल्यमा पार्टपुर्जा इन्जिन मर्मतसहित सिट कभर नयाँ लगाउने, भित्री बाहिर भागमा रङरोगन लगाउने, खिया लागेको भागमा वेल्डिङ गर्ने, टायर फेर्नेसहितको काम गर्ने गरि लगत इष्टिमेट तयार पारेको थियो ।
समितिले सोहीअनुसार बजेटको व्यवस्थापन गर्न माग गर्दै इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीलाई जानकारी गराउँदै मर्मतसम्भार खर्च उपलब्ध गराउन आग्रह गरेको संयोजक बस्नेतले बताए । मेयर भण्डारीले नगरपालिकामा मधेशा स्वास्थ्य चौकीका लागि सामनिकरण अनुदानअन्तर्गत एम्बुलेन्स मर्मतसम्भारका लागि बजेट नै व्यवस्था भएकाले आफुहरुले एम्बुलेन्स बनाईदिने प्रतिवद्धता जनाएको संयोजक बस्नेतले बताए। मेयरको आश्वासनपछि समितिले सिप्रद्री वर्कसप इटहरीमा एम्बुलेन्स लगेको थियो। बस्नेतले भने, ‘मेयर केदार भण्डारीले एम्बुलेन्स बनाउने जिम्मा आफूले लिने प्रतिवद्धता जनाएर समितिलाई थाहा नदिई सिप्रदीबाट एम्बुलेन्स अन्यत्रै लगेर मर्मतसम्भार नै नगरि जस्तो अवस्थामा लगे त्यस्तै अवस्थामा ल्याएर बिल भपाई खर्च देखाउने कार्य गलत भएको छ ।’
सिप्रदी लगिएको एम्बुलेन्स नगरपालिकाका जिन्सी शाखाका प्रमुख कुमार निरौलासहितका केही कर्मचारी पुगेर अर्को ग्यारेजमा लिएर गएपछि उक्त एम्बुलेन्स लगत इष्टिमेटभन्दा बाहिर गएर धोइपखाली गरि २०८१ साउन अन्तिम साता मधेशामा ल्याइएको थियो। मधेशा स्वास्थ्य चौकीमा ६ लाख खर्च गरेर ल्याइएको एम्बुलेन्स एकजना बिरामी लिएर बिराट टिचिङ हस्पिटल टंकिसिनवारी लगिएको थियो । बिराट टिचिङ जाने क्रममा सो एम्बुलेन्स बाटोमै बिग्रिएपछि जसोतसो मर्मत गरे बिरामीलाई उपचार गर्ने ठाँउसम्म पु¥याएर फर्किएपछि ६ नम्बर वडा कार्यालय परिसरमा थन्काएर राखिएको छ । समितिका संयोजक गोपाल बस्नेतले ६ लाख रुपैयाँ खर्च गरेर ल्याएको एम्बुलेन्स एकैदिन चलाउँदा बिग्रिएपछि आफूले एम्बुलेन्स सञ्चालक समितिको संयोजक पदबाट मधेशा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समितिसमक्ष राजीनामा दिएको बताए ।बस्नेतले भने, ‘४ लाख खर्च गर्दा सिपद्रीले पाटपुर्जा इन्जिनसहित भित्री-बाहिरी बडी नै फेरेर नयाँ बनाएर दिने लगत इष्टिमेट दिँदा नगरपालिकाले जस्तो लगेको त्यस्तै रुपमा फिर्ता ल्याएपछि आफूले अनियमितताको साक्षी भएर बस्नु भन्दा राजीनामा दिनु उचित सम्झिएर जिम्मेवारीबाट हटनु प¥यो ।’
मधेशा स्वास्थ्य चौकीका प्रमुख ओम काफ्लेले आफु २०८१ भदौ १ गतेदेखि इनरुवा ६ मधेशामा सरुवा भएर आएकाले अघिल्लो स्वास्थ्य प्रमुखको कार्यकालमा नगरपालिका कार्यालयबाटै ५ लाख रुपैयाँ खर्च गरेर एम्बुलेन्स बनाएर ल्याएको जानकारी पाएको बताए । काफ्लेले बजेटको शिर्षक कहाँबाट आयो कसरी आयो कसरी भयो भन्ने बिषयमा अघिल्लो स्वास्थ्य प्रमुखलाई जानकारी भएकाले आफूले स्पष्ट बताउन नसक्ने बताए।
उनले मधेशामा आएको सामानिकरण अनुदानको रकम मधेशा स्वास्थ्य चौकीबाहेक अरुको योजनामा निर्णय बिना खर्च गर्न नसकिने कानुनी व्यवश्था भएपनि यो रकम प्रकृया नपु¥याई किन खर्च गरियो भन्ने बिषयमा आफूले केही बताउन नसक्ने बताए ।काफ्ले भने, ‘चल्दा चल्दै गरेको एम्बुलेन्स मर्मतसम्भारका नाममा ठूलो रकम खर्च गर्दासमेत सञ्चालनमा आउन नसकेकाले मधेशा स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति इनरुवा नगरपालिकाका ६ नम्बर वडाका वडाअध्यक्ष संयोजक हुने व्यवस्था रहेकाले यस बिषयमा छुट्टै एजेण्डा राखेर छलफलका बैठक बोलाउन आफूले पहल थाल्ने तयारी गरेको छु।’
मधेशा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसमेत रहेकाले एम्बुलेन्स अति आवश्यक भएकाले अहिले एम्बुलेन्स बिग्रिएपछि बिरामी तथा गर्भवती महिलाका लागि ओसारपसार गर्न समस्या भएको काफ्ले बताए। इनरुवा ६ नम्बर वडाका सदस्य उत्तम कार्कीले एम्बुलेन्स मर्मतसम्भारका नाममा करिब ८ लाख रुपैयाँ खर्च गरिएको जानकारी पाएपछि यस बिषयमा नगरपालिकाको लेखा फाँटमा आफूले खर्च बिवरण माग गरेपनि अहिलेसम्म यस बिषयमा लेखाले जानकारी नगराएको बताए । सदस्य कार्कीले मधेशावासीको स्वास्थ्य सेवाका लागि एम्बुलेन्स अति आवश्यक सवारीसाधन भएकाले मर्मतसम्भारका नाममा अनियमितता भएकाले यस बिषयमा गम्भिरतापुर्वक छानबिन हुन जरुरी रहेको बताए ।
कार्कीले मेयरको निर्देशन र आदेश बिना कर्मचारीले कुनै काम गर्न र खर्च गर्न नसक्ने भएकाले बिग्रीएको एम्बुलेन्स मर्मतसम्भार नै नगरि कागजमा खर्च देखाउनु दु:खद एवं गैह्रजिम्मेवारीपन भएको दावी गरे। कार्कीले यस बिषयमा छानबिन गरि दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन जरुरी रहेको बताए।
मेयर केदार भण्डारीले ६ नम्बर वडाका वडाध्यक्ष सुमन थापाले मधेसका जनताको लागि आवश्यक छ भनेर भनेकोले नगरपालिकाले एकपटक मर्मत गरेर छ महिनासम्म एम्बुलेन्स सञ्चालन गरेको भन्दै तर १२ वर्ष बढी भइसकेको सो एम्बुलेन्सको नवीकरण नहुने भएपछि त्यसलाई अहिले सञ्चालन नगरिएको जानकारी दिए । उनले भने, ‘आवश्यक छ भनेर बनाएर चलाएका हौ । नबनाएको भन्ने कुरा सही होइन । १२ वर्ष सञ्चालन भइसकेको सो एम्बुलेन्स प्रमुख जिल्ला अधिकारीले नविकरण नमिल्ने भएकोले यसलाई सञ्चालन गर्न नमिल्ने भनेर भनेको वडाध्यक्षले रिपोर्टिङ गरेपछि अहिले सञ्चालन नगरिएको हो । विधि र प्रक्रियाबाहिर गएर मानिसको जीवन जोखिममा पारेर सञ्चालन गर्नु त भएन नि ?’
मेयर भण्डारीले सिप्रदीमा बनाउन दिएको भन्ने एम्बुलेन्स समितिको भनाई अनुसार सोही स्थानमा मर्मतसम्भार गरेको बताए । उनले सिप्रदीमा यस बिषयमा जानकारी लिनुका साथै यदी समिति र स्थानीयले गरेको दावी अनुसार मर्मतसम्भार नगरि बिल मात्रै बनाएर एम्बुलेन्स ल्याएको फेला परेमा छानबिन गरि कारबाही गरिने बताए ।
क्याटेगोरी : प्रदेश, विविध
तपाईको प्रतिक्रिया दिनुहोस