बाबु कै नियति भोगेर सरकारी सेवाबाट बिदा भए डा. बैकुण्ठ अर्याल
काठमाडौं। विशेष अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सरकारी सेवाबाट दिएको राजीनामा स्वीकृत भएको छ। शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत ( राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिव सरह) पदमा कार्यरत डा. बैकुण्ठ अर्यालले पेस गरेको स्वच्छिक अवकाश स्वीकृत गर्ने निर्णय गरेको जानकारी गराएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा डामेका बैकुण्ठलाई विशेष अदालतले सफाइ दिएपछि राष्ट्रिय योजना आयोगमा गएर हाजिर गरेका थिए। राष्ट्रिय योजना आयोगमा हाजिर भएका मुख्यसचिव अर्यालले सरकारी सेवाबाट राजिनामा दिएका हुन्।
गत असार ९ गते अख्तियारले तत्कालीन मुख्यसचिव डा. बैकुण्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोग लगाएपछि उनी निलम्बनमा परेका छन् । कार्तिक १४ गते उनले भ्रष्टाचारको अभियोगबाट सफाइ पाएका थिए। त्यसपछि सेवामा फर्किएका डा. बैकुण्ठ अख्तियारले भ्रष्टाचारका थप मुद्दा र आफूलाई सफाइ दिने विशेषको फैसला उपर सर्वोच्च जाने तयारीमा रहेको सुईको पाएपछि राजीनामा दिन बाध्य भएको चर्चा हुन थालेको छ।
मुख्यसचिवबाट राजीनामा दिएका बैकुण्ठका बुबा रघुनाथ अर्याल पनि विवादमा परेपछि सरकारी सेवाबाट राजीनामा दिएका थिए। बैकुण्ठले पनि त्यहिँ नियति भोग्नुपरेको छ । तत्कालीन पाल्पा जिल्ला न्यायाधीश बनेका काठमाडौं फर्पिङका रघुनाथ अर्याल (जो बैकुण्ठका बुवा हुन्) न्याय परिषद्को कारबाहीबाट जोगिन राजीनामा दिएर हिँडेका थिए । बैकुण्ठले भने भ्रष्टाचार मुद्दाबाट सफाइ पाएपछि राजीनामा दिएका छन्।
क्याटेगोरी : समाचारट्याग : #अन्तःशुल्क स्टिकर भ्रष्टाचार, #डा. बैकुण्ठ अर्याल, #रघुनाथ अर्याल (तत्कालीन जिल्ला न्यायाधीश)
तपाईको प्रतिक्रिया दिनुहोस