पूर्व भौतिक योजना राज्यमन्त्री पदम राईको निधन


काठमाडौं। भोजपुर बोयाका पुर्व भौतिक योजना तथा निर्माण (हाल पूर्वाधार तथा यातायात)  राज्यमन्त्री पदम साङपाङ राईको निधन भएको छ। पार्किन्सन रोगबाट थलिएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो। शनिबार बेलुका ८ बजे चिकित्सकले मृत घोषणा गरेको स्वर्गीय पदमा साढूभाई दिपक राईले स्वास्थ्य लाइभलाई जानकारी दिए।

अन्तिम श्रद्धाञ्जलीका लागि राईको पार्थिव शरीर आईतबार बिहान साढे ९ बजेदेखि नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने भएको छ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हो।

५७ वर्षीय राई २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। उनले तत्कालीन जलस्रोतमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई हराउँदै पहिलो संविधानसभामा निर्वाचित हुन सफल भएका थिए। त्यसपछि उनी माओवादीको मुलधार छाडेर कहिले वैद्य त कहिले विप्लव नेतृत्वको माओवादीतिर लागे। पछिल्लो समय भने फेरि उनी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको भूमिकामा रहेका थिए।

संविधानसभाको निर्वाचन हुनु अगाडि गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा राई भौतिक राज्यमन्त्री थिए। उनी राज्यमन्त्री हुँदा हिसिला यमी भौतिकमन्त्री रहेकी थिइन्।

माओवादीमा भलाद्मी नेताका रूपमा परिचित राई भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा नम्बर १४ बोयामा जन्मिएका हुन्। उनको अल्पआयुमा नै निधन भएको हो। पूर्व राज्यमन्त्री राईका श्रीमतीसहित एक छोरा र एक छोरी रहेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ