सर्वोच्चको फैसलासँगै काठमाडौंका सिडिओ आचार्य नैतिक संकटमा, को बन्ला सिडिओ?


काठमाडौं। सर्वोच्च अदालतको बृहत्त पूर्ण इजलासबाट भएको फैसाला सार्वजनिक भएसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य नैतिक संकटमा परेका छन्। नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाएका आचार्यलाई सफाइ दिने सर्वोच्च अदालतको अघिल्लो फैसलामाथि बृहत्त पूर्ण इजलासले प्रश्न उठाएपछि आचार्यमाथि नैतिक संकट परेको हो।

सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना रहेको पाँच न्यायाधीशको इजलासले आचार्यलाई सफाई दिने अघिल्लो फैसलालाई अमान्य (ओभर रुलिङ) गरेसँगै उनीमाथि नैतिक संकट आइपरेको छ। सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै आचार्यलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट हटाउने तयारी भइरहेको गृह मन्त्रालय उच्च स्रोतले बतायो। उनको योग्यतामाथि नै अदालबाट प्रश्न उठेपछि नैतिक रुपमा पनि प्रमुख जिल्ला अधिकारीको भूमिकामा बस्न र राख्न मिल्ने गृहका अधिकारीहरू बताउँछन्।

सर्वोच्च अदालतले सार्वजनिक गरेको फैसलाको पूर्ण पाठमा भनिएको छ। ‘निज (आचार्य) ले भारतबाट २०५२ साल (सन् १९९५) मा प्राप्त गरेको इन्टरमिडियटको झुटा प्रमाणपत्र पेस गरी २०५७ सालमा माथिल्लो बीएड तहको शैक्षिक योग्यता हासिल गरेको अवस्थामा पछि २०५७ सालमै नेपालबाट आईए पास गरेको प्रमाणपत्र हासिल गरेको भन्ने आधारमा त्यस्तो बीएडको शैक्षिक योग्यताले वैधानिकता प्राप्त गर्ने अवस्था हुन सक्दैन,’ फैसलामा लेखिएको छ, ‘सोही इन्टरमिडियटको झुटा शैक्षिक योग्यताको प्रमाणपत्र २०५७ सालको लोक सेवा आयोगको शाखा अधिकृतको प्रारम्भिक परीक्षामा सामेल हुन पेस गरी परीक्षा उत्तीर्णसमेत भई सेवा प्रवेश गरेको देखिन्छ। यस्तो अवस्थामा निजले इन्टरमिडियटको झुटा प्रमाण पेस गरी माथिल्लो शैक्षिक योग्यता प्राप्त गरी लाभ लिइसकेको तथा सो झुटा प्रमाणपत्र पनि शाखा अधिकृतको प्रारम्भिक परीक्षाका लागि पेस गरेको दुवै अवस्थाको विद्यमानता देखिँदा यस्तो प्रकृतिको कार्य भ्रष्टाचारजन्य कसुर हुने अवस्था रहन्छ।’ फैसलालगत्तै उनको हकमा के गर्ने भनेर गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष परामर्श समेत लिएको स्रोतले बतायो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत आचार्यलाई भविष्यमा महत्त्वपूर्ण जिम्मेवारी नदिनु भनेर लेखि पठाउन सक्ने आयोग स्रोतले बतायो। फैसलाको पूर्ण पाठमा आचार्यलाई सफाइ दिने निर्णय अमान्य भएको ठहर गरेकाले उनले नैतिकता आधारमा राजीनामा दिँदा उपयुक्त हुने गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयका अधिकारीहरुको प्रतिक्रिया छ।

को बन्ला काठमाडौंको सिडिओ?

सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै काठमाडौंमा अर्को सिडिओ पठाउने तयारी भइरहेको छ। गृह प्रशासनमाथि नै प्रश्न उठ्ने भएकाले आचार्यलाई तत्काल सिडिओबाट हटाउने तयारी भइरहेको गृह मन्त्रालय स्रोतको भनाइ छ।

काठमाडौंको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा गृह मन्त्रालयको प्रशासन महाशाख प्रमुख छबिलाल रिजाल, सुरक्षा तथा समन्वय महाशाखा प्रमुख ऋषिराम तिवारी र मोरङका सिडिओ प्रेमप्रसाद भट्टराईको चर्चा छ। रिजाललाई मोरङको सिडिओ पठाएर भट्टराईलाई काठमाडौंमा ल्याउने गरी समेत छलफल चल्न थालेको छ। तिवारीले समेत काठमाडौंको सिडिओ बन्न लबिइङ गरेका छन्। प्रशासन महाशाखा प्रमुख भएकाले रिजालको समेत काठमाडौंको सिडिओ भएर जान निकै जोडबल देखिन्छ। जे होस् आचार्यलाई भने काठमाडौंको सिडिओबाट गृह मन्त्रालय तान्ने निश्चित जस्तै भएको मन्त्रालय स्रोतले दाबी गऱ्यो।

क्याटेगोरी : समाचार
ट्याग : #जयनारायण आचार्य सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ