खनाल र निरौला महावाणिज्यदूत भएर गइसके, आचार्यको ‘एग्रिमो’ आइसक्यो लेखक अलमलमै


काठमाडौं । साउन अन्तिमतिर परराष्ट्र मन्त्रालय पुगेका प्रशासन सेवाका ४ सहसचिवमध्ये २ जनाले महावाणिज्यदूतको जिम्मेवारी सम्हालिसकेका छन्। एकैदिन परराष्ट्र मन्त्रालय सरुवा भएर गएकामध्ये भरत खनालले ग्वान्जाओको महावाणिज्यदूतका रूपमा काम गर्न थालिसकेका छन्। त्यस्तै लक्ष्मीप्रसाद निरौला ल्हासा पुगिसकेका छन्। कलकत्ताको महावाणिज्यदूतमा नियुक्त भएका झक्कप्रसाद आचार्यको पनि ‘एग्रिमो’ आइसकेको छन्। उनी कलकत्तातिर प्रस्थान गर्ने तयारीमा रहेको बुझिन्छ।

एकैदिन परराष्ट्र मन्त्रालय सरुवा भएर गएका ४ जना सहसचिवमध्ये विन्देश्वरप्रसाद लेखक भने अलमलमै देखिन्छन्। सँगै गएकाहरु कोही जिम्मेवारीमा पुगिसकेको र कोही जिम्मेवारी सम्हाल्न जान तयारीमा रहँदा लेखकलाई भने गन्तव्य पौल्याउनै गाह्रो भएको चर्चा छ। लेखकलाई चिनको बेइजिङस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिस्टर बनाएर पठाउने चर्चा चल्दै आएको छ। तर, उनी भने हङकङको महावाणिज्यदूतमा जाने कसरतमा छन्।

हङकङका महावाणिज्यदूत उदयबहादुर राना मगर पुस पहिलो हप्ता ४ वर्षे कार्यकाल पूरा गरेर नेपाल फर्किदैछन्। उदयको ठाउँमा जाने दाउमा लेखक लागेको परराष्ट्रका अधिकारीहरू सुनाउँछन्। हङकङमा आदिवासी/जनजाति पृष्ठभूमिको सहसचिव पठाउनु पर्ने दबाव छ। हङकङमा जनजाति बढी बस्ने भएकाले उक्त पृष्ठभूमिको सहसचिव हङकङको महावाणिज्यदूत पठाउँदा राम्रो सन्देश जाने परराष्ट्रका अधिकारीहरू बताउँछन्। तर, लेखक हङकङ जान लबिइङमा लागेको चर्चा सुनिन्छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #उदयबहादुर राना मगर महावाणिज्यदूत हङकङ, #झक्कप्रसाद आचार्य सहसचिव, #भरत खनाल सहसचिव, #महावाणिज्यदूत, #लक्ष्मीप्रसाद निरौला सहसचिव, #विन्देश्वरप्रसाद लेखक सहसचिव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ