रम्भाका आँसु र लक्जरी होटलमा स्वास्थ्यमन्त्रीको भोज: जनताको स्वास्थ्यलाई कसले रक्षा गर्ने?
काठमाडौं । सप्तरीको राजविराज नगरपालिका– ६ दलित बस्तीका २७ वर्षीय रुपेश सदा उपचार अभावमा अस्पतालबाट घर फिर्ता भए। श्रीमती रम्भाले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएकी थिइन्। पाँच दिनको उपचार र बसाइमा एक लाख पाँच हजार खर्च भएको थियो। चिकित्सकले अप्रेसन गर्नुपर्छ भन्दै थप एक लाख ५० हजार रुपैयाँ व्यवस्था गर्नु भनेपछि उपचार नै नगरी श्रीमानलाई रम्भाले घर ल्याईन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा यतिबेला कांग्रेसका एक जना नेता प्रदीप पौडेलले लिएका छन्। महामन्त्रीमा लज्जास्पद हार व्योहोरेका पौडेललाई थुमथुम्याउन स्वास्थ्य जस्तो संवेदनशील मन्त्रालय कांग्रेसले दिएको थियो। तर, पौडेल जनताको स्वास्थ्यमाभन्दा पनि मिडियामा आफू अनुकूल समाचार लेखाएर रमाइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको राष्ट्रिय संयुक्त बार्षिक समिक्षा कार्यक्रम १३ गते बिहीबारदेखि सुरु हुँदैछ। स्वास्थ्यकर्मीका लागि यो एक प्रकारको पर्व हो। समीक्षा बैठकमा स्वास्थ्यका क्षेत्रमा आजसम्म भएका उपलब्धि, गर्न बाँकी काम र देखापरेका चुनौतिबारे छलफल गरिन्छ।
लक्जरी होटलमा स्वास्थ्यको वार्षिक समिक्षा कार्यक्रम राखेर लाखौँको भोज गर्दै गर्दा देशका गरिब नागरिकले स्वास्थ्य उपचार नपाएर मर्नुपर्ने अवस्था आएको छ। त्यो रम्भा उदाहरणीय पात्र हुन्। सप्तरीकी रम्भाका आँखाबाट आँसु झरिरहँदा स्वास्थ्यमन्त्री पौडेलले तीन दिनसम्म काठमाण्डौंको लक्जरी होटलमा समिक्षाका नाममा भोज चलाउने निधो गरेका छन्।
स्वास्थ्य अधिकारीहरु भन्छन् रम्भा उदाहरण हुन्। दिनहुँ यस्तो समस्या कति आउँछन् कति तर, जनताको स्वास्थ्यलाई कसले रक्षा गर्ने? समिक्षा कार्यक्रम यस अगाडि दुई पटक भक्तपुरमा रहेको कृषि तालिम केन्द्रको हलमा हुँदै आएको थियो। इमान्दार मन्त्री भए करोडौं खर्चको भतेर रोकेर यस्ता दुःखी जनताको घाउँमा मल्हम लगाउने थिए। तर, दुर्भाग्य सधै स्वास्थ्यमा फण्डामन्त्रीको आगमन भयो। यसले स्वास्थ्यमा नयाँ नयाँ विकृति देखा पर्न थालेको छ।
अहिले मन्त्री पौडेलले देशकै महंगो होटलमा समीक्षा बैठक चलाउने निर्णय लिएका छन्। अझ गज्जवको कुरा त वार्षिक समीक्षा कार्यक्रमको लागानीकर्ता एक एनजीओ रहेको छ। “एफएचआइ तीन सय साठी” नामक एनजीओले तीन दिनसम्म चल्ने सरकारी कार्यक्रमको लगानी गरेको छ। उक्त संस्थाका एक कर्मचारी भगवान श्रेष्ठले प्रतिस्पर्धात्मक दर अनुसारनै होटलमा खर्च गर्न लागेको स्वीकार गरे।
एकातीर डेढ लाख नभएर श्रीमान् रुदै घर लैजानुपर्ने अर्कोतर्फ भोजको नाममा करोडौं खर्च गरेर मन्त्री हाँस्दै जनताको अगाडि हिँड्ने विडम्बना छ। पौडेललाई जनताको अगाडि मुख देखाएर हिड्न अलिकति पनि लाज छैन, जति समाचार लेख्दा हामीलाई छ। पैसाको अभावमा उपचार नपाएका देशका गरिब नागरिक मारेर, लक्जरी होटलमा उत्सव मनाउँन सबै एक छन्।
जनताको उपचार रोकेर एनजीओको लगानीमा “लक्जरी समिक्षा” समिक्षा एउटा राम्रो मन्त्री र कर्मचारीले गर्दैन। स्वास्थ्यको उपचार संकटमा पारेर एनजीओको पैसामा होटलमा भोज र रक्सीमा रमाउने मन्त्री र कर्मचारीलाई तत्काल प्रधानमन्त्रीले एक्सन लिनुपर्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सरकारी कार्यक्रम सिंहदबार भित्रै गर्दै आएका छन्। तर, स्वास्थ्यमन्त्री लक्जरी होटल गएर त्यस्तो कार्यक्रम गर्न लालयित देखिएका हुन्।
लक्जरी होटलको कार्यक्रम रोकेर विगतमा गरिएका सरकारी हलहरुको उपयोग गर्नु पर्ने कतिपय कर्मचारीको बुझाइ रहेको छ। देशभरबाट हजारौंको संख्यामा स्वास्थ्यकर्मीहरुको सहभागिता हुँदैछ । तीन दिनसम्म चल्ने उक्त समिक्षा कार्यक्रममा करोड बढी खर्च हुने बताइएको छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
तपाईको प्रतिक्रिया दिनुहोस