फोहोरमैला व्यवस्थापन र समन्वयका विषयमा बालेनले उपप्रधानमन्त्री प्रकाशमानलाई भेटे


काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटर्वार्ता भएको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारको समन्वयमा सिंह र बालेनको भेटर्वार्ता भएको हो। उनीहरुबीच काठमाडौं महानगरपालिकाभित्रको फोहोरमैला व्यवस्थापन, सहरी व्यवस्थापन, सौन्दर्यीकरण र संघीय सरकार र काठमाडौं महानगरपालिकाबीच समन्वयको विषयमा छलफल भएको वडाध्यक्ष तण्डुकारले जनाए।

२/३ अगाडि नै उपप्रधानमन्त्री सिंह र बालेनबीच भेटर्वार्ता भएको वडाध्यक्ष तण्डुकारले बताए। तर, उक्त भेटर्वार्ताको फोटो भने वडाध्यक्ष तण्डुकारले समाजिक सञ्जाल फेसबुक मार्फत बुधबार साँझ मात्र सार्वजनिक गरेका छन्। काठमाडौंलाई व्यवस्थित र सुविधासम्पन्न बनाउने विषयमा मन्त्री सिंह र मेयर बालेनबीच सकारात्मक कुरा र समझदारी भएको उक्त भेटका साक्षी वडाध्यक्ष तण्डुकारले सुनाए।

काका उपनामले परिचित तण्डुकार पुराना र अनुभवी राजनीतिज्ञ हुन्। उनी पटक-पटक काठमाडौं महानगरपालिकास्थित उक्त वडाको वडाध्यक्षमा निर्वाचित हुँदै आएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ