राष्ट्रिय योजना आयोगका सदस्य सिंहलाई ‘सेकेन्ड’ बनाएर सहसचिव बनेका थिए विरेन्द्रप्रसाद यादव

सहसचिवमा आफैले बैकल्पिकमा पारेका सिंहको मातहतमा रहेर काम गर्न पुगेका छन् यादव


काठमाडौं। पन्ध्र वर्षसम्म पनि सहसचिवमै रमाइरहेका विरेन्द्रकुमार यादवले रमेशप्रसाद सिंहलाई बैकल्पिकमा पारेर सहसचिव भएका थिए। २०६५ साल पुसमा सञ्चालित मधेशी कोटा सहसचिव एक पदका लागि ४ जनाले नाम निकालेका थिए। लिखित परीक्षामा संलग्न १४९ जनामध्ये बिमलकुमार निर्मल, विरेन्द्रकुमार यादव, रमेशप्रसाद सिंह र शंकरप्रसाद साहले लिखितमा नाम निकालेका हुन्। प्ररशास सेवामा सहसचिव सिफारिसको १ नम्बरमा यादव र बैकल्पिकमा सिंह परेका थिए।

सिंहलाई ‘टपेर’ सहसचिव भएका यादव अहिले पनि सोही पदमा हल्लिरहेका छन्। प्रशासनको सहसचिवका लागि अन्तर्वार्तामा फ्यालिएका सिंह भने नेपाल इन्जिनियरिङ सेवाको सचिवबाट ‘रिटायर्ड’ भएर राष्ट्रिय योजना आयोगको सदस्य हुन पुगेका छन्। यादव अहिले सहसचिवको बैकल्पिकमा परेका सिंह मातहत काम गर्ने कर्मचारी हुन्।

मधेशी कोटामा प्रशासन सेवा तर्फको सहसचिवको लिखित परीक्षामा नाम निकाल्ने नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का अधिकृत यादव, इन्जिनियरिङ सेवाका अधिकृत सिंह, निर्मल र साह सबै प्राविधिक नै थिए। त्यो बेला प्रशासन तर्फकाले सहसचिवको लिखित परीक्षामा उत्तीर्ण गर्न नसकेको सिंह सम्झिन्छन्।

अन्तर्वार्तामा प्रशासन सेवा तर्फको सहसचिवको प्रतिस्पर्धामा यादवसँग ‘फेल’ भएका सिंहले ४ महिना पछाडि इन्जिनियरिङ सेवाको सहसचिवमा नाम निकाल्न सफल भएका थिए। ५ वर्षे सेवा अवधि पूरा गरेर सहरी विकास मन्त्रालयको सचिवबाट अवकाश भएका सिंह अहिले राष्ट्रिय योजना आयोगको सदस्यको भूमिकामा छन्। उनलाई सहसचिवमा ‘सेकेन्ड’ बनाउने यादव भने सहसचिवको भूमिकामै सिंहको कर्मचारी भएर काम गरिरहेका हुन्।

यादवले नियमित तरिकाले सचिवमा बढुवा खाएको भए अहिले सेवाबाट अवकाश पाइसकेका हुन्थे। सहसचिवमा आफैले बैकल्पिकमा पारेका सिंह मातहतमा रहेर उनले काम गर्नु पर्ने थिएन। तर, सचिव हुनबाट भाग्दा अहिले यादवले यस्तो नियति भोग्नु परेको हो।

क्याटेगोरी : समाचार
ट्याग : #रमेशप्रसाद सिंह, #राष्ट्रिय योजना आयोग, #विरेन्द्रकुमार यादव, #सहसचिव विरेन्द्रकुमार यादव

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ