औषधी पसलेलाई वीर अस्पतालमा प्रवेश निषेध!


काठमाडौं। वीर अस्पताल प्रशासनले वरिपरिका औषधी पसलेलाई अस्पतालमा प्रवेश निषेध गरेको छ। बिरामीलाई औषधी किन्न दबाब दिएको भन्दै अस्पताल प्रशासनले प्रवेश निषेध गरेको हो।

औषधी पसलेहरु विरामीहरुको बेड-बेडमा गई औषधि पसलको नाम र ठेगानासहितको कार्डहरू वितरण गर्ने गरिएको बिरामीहरूबाट जानकारी आएकाले प्रवेश निषेध गरिएको अस्पताल प्रशासनले जनाएको छ।

‘अस्पतालमा भर्ना भएका बिरामीहरुलाई औषधी तथा औषधिजन्य सामानहरु खरिद गर्न आउनु भनि यस अस्पताल वरिपरि संचालनमा रहेका औषधी पसलहरूबाट बिरामीहरुको बेड-बेडमा गई औषधि पसलको नाम र ठेगानासहितको कार्डहरू वितरण गर्ने गरिएको बिरामीहरूबाट जानकारी हुन आएकोले त्यस्ता व्यक्तिहरुलाई अस्पतालभित्र प्रवेश निषेध गरिएको छ।’, अस्पताल प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्ता व्यक्तिहरु अस्पताल प्रवेश गरेको पाइएमा त्यस व्यक्तिहरु अस्पतालका सुरक्षा गार्ड तथा प्रहरीलाई सूचना गरी कानुनी कारबाहीका लागि सहयोग गर्न समेत वीर अस्पताल प्रशासनले सबैमा अनुरोध गरेको छ।

वीर अस्पताल प्रशासनले अस्पतालमा बहिरङ्ग सेवा (ओपीडी), इमर्जेन्सी तथा अन्तरङ्ग सेवा (भर्ना भएका) बिरामीहरुको लागि औषधि तथा औषधिजन्य सामनहरु अस्पतालमा सञ्चालित फार्मेसीबाट उपलब्ध हुने भएकाले अस्पतालको फार्मेसीबाट खरिद गर्न समेत अनुरोध गरेको छ।

स्वास्थ्य बीमामा आबद्ध तथा अन्य बिरामीहरुलाई निश्चित ब्राण्ड वा कम्पनी तोकी औषधी तथा औषधिजन्य सामग्रीहरू सिफारिस नगर्न र अस्पताल फार्मेसीबाट उपलब्ध गराइएका औषधिजन्य सामग्रीहरु ब्राण्ड वा कम्पनी नमिलेको आधारमा नगर्न/ नगराउन पनि अस्पताल प्रशासनले निर्देशन दिएको छ। त्यस्तो गरेको पाइएमा कारबाही हुने वीर अस्पताल प्रशासनले एक सूचनामार्फत चेतावनी दिएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ