सहरी सचिवमा सिग्देल, अवकाशको मुखमा रहेका डा. घिमिरे सचिवमा बढुवा

काठमाडौं। मन्त्रिपरिषद्को आईतबार बसेको बैठकले प्राविधिक सचिवको सरुवा र बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार रिक्त रहेको सहरी विकास मन्त्रालयको सचिवमा गोपालप्रसाद सिग्देललाई सरुवा गरेर पठाउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले जल तथा ऊर्जा आयोगका सचिव सिग्देललाई सहरी विकास मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए।
सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले ५८ वर्षे उमेर हदका कारण यहीं मंसिर १२ गते अनिवार्य अवकाश पाएपछि उक्त मन्त्रालयमा सचिव रिक्त रहेको थियो। त्यो ठाउँमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको ऊर्जा सचिव भएर काम गरिसकेका सिग्देल गएका हुन्। सिग्देल सडक विभागको महानिर्देशक समेत भइसकेका व्यक्ति हुन्।
मन्त्रिपरिषद्को बैठकले गेलालले अवकाश पाएपछि सहरी विकास मन्त्रालयको सचिव मात्र पठाएको छैन उनको ठाउँमा सचिव पनि बढुवा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा. रामप्रसाद घिमिरेलाई प्राविधिक सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले अवकाशको मुखमा रहेका खानी तथा भूगर्भ विभागका महानिर्देशक समेत रहेका प्राविधिक सहसचिव घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। उनी दुई हप्ते सचिवमा दर्ज हुने भएका छन्।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिवमा बढुवा भएका डा. घिमिरेलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो। बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव दिनानाथ मिश्रलाई छाडेर मन्त्रिपरिषद्को बैठकले दोस्रो नम्बरमा रहेका घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। तेस्रो नम्बरमा भने ऊर्जातिरका सहसचिव मधुप्रसाद भेटवालको नाम सिफारिस भएको थियो।
दुई हप्ताका लागि सचिवमा बढुवा भएका घिमिरे खानी दोहन र राजस्व हिनामिनाको आरोपमा भ्रष्टाचार मुद्दा लागेर विशेष अदालतबाट सफाइ पाएका व्यक्ति हुन्। उनको ‘उचित मूल्यांकन’ गरेर सरकारले दुई हप्ताका लागि सचिव बनाएको देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #खानी तथा भूगर्भ विभाग, #गोपाल सिग्देल सचिव, #डा. रामप्रसाद घिमिरे प्राविधिक सचिव
तपाईको प्रतिक्रिया दिनुहोस