काठमाडौं-१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ निर्वाचित
काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित भएकी छिन्। यस अगाडिको दुईवटा स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको उक्त वडामा रास्वपाले बाजी मारेको हो।
घण्टी चुनाव चिन्ह लिएर उठेकी रोजिनाले २ हजार ९ सय २ मत ल्याएर निर्वाचित भएकी छिन्। एमालेका उम्मेदवार लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत ल्याउँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे। दोस्रो भएको एमाले र तेस्रो भएको कांग्रेसबीच ६ मत मात्र फरक छ। नेकपा एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएका छन्। राप्रपाले समेत ७ सय १४ मत ल्याएको हो।
नेपाली कांग्रेसका मुकुन्दप्रसाद रिजालले दुईपटक जितेको वडामा रास्वपाकी रोजिना उत्तराधिकारी बन्न पुगेकी छिन्। रामविर मानन्धर एमालेमा फर्किएपनि कांग्रेसको भन्दा ६ मत मात्र एमालेले बढी ल्याएको छ। एमाले र कांग्रेसभन्दा झन्डै ७ सय मत बढी प्राप्त गरेर रास्वपाकी रोजिना निर्वाचित हुनेले आगामी निर्वाचनमा काठमाडौं महानगरपालिकाभित्र पुराना दलको विरासतमा धक्का लाग्ने संकेत देखिन्छ। स्मरण रहोस् वडा नम्बर १६ नेपाल सरकारका उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिहको निर्वाचन क्षेत्र हो। सिंहले मतदान गरेको क्षेत्रमा कांग्रेस तेस्रो भएको छ। सूर्यलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #रोजिना श्रेष्ठ वडाध्यक्ष
तपाईको प्रतिक्रिया दिनुहोस