नेपाल प्रिमियर लिगका नाममा मेडिकल व्यवसायीहरू मैदानमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को नाममा मेडिकल व्यवसायीहरु क्रिकेटको मैदानमा आएका छन्। एनपिएल टिमको मालिक बनेर मेडिकल कलेज, अस्पताल र औषधी उत्पादक मैदानमा आएका हुन्। उनीहरूले राम्रै दाम हालेर एनपिएल टिम खरिद गरेका छन्। मेडिकल व्यवसायीहरुले एनपिएलमा प्रतियोगितामा सहभागी रहने फ्रेन्चाइन टिम किनेका हुन्।
चितवन मेडिकल कलेज एवं शिक्षण अस्पतालका हरिशचन्द्र न्यौपानेले चितवन राइनोजका टिममा लगानी गरेका छन्। न्यौपानेले उक्त टिम १ करोड ७६ लाखभन्दा बढी खर्च गरेर किनेका हुन्। उनले मेडिकल कलेज नै बेचेर एनपिएलमा निरन्तरता दिन सक्ने समेत चर्चा हुन थालेको छ। चितवन राइनोजका मार्की खेलाडी कुशल मल्ल हुन्।

त्यस्तै लुम्बिनी लायन्स टिम फरच्युना हेल्थ केयर प्रालिले किनेको हो। लुम्बिनी लायन्समा ईश्वर जीसी अगाडि देखिए पनि यो कम्पनी मुख्य व्यक्ति उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणा हुन्। सिरिन्ज उत्पादन गर्ने फरच्युना हेल्थ केयर प्रालिले पनि एनपिएलमा १ करोड ८६ लाख रुपैयाँ बढी लगानी गरेको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरको सिरिन्जलगायत मेडिकल सामग्री उत्पादन तथा बिक्रीवितरण गर्ने उद्देश्यले स्थापना भएको उक्त कम्पनीले एनपिएलको टिममा समेत लगानी गरेको हो। लुम्बिनी लायन्सका मार्की खेलाडी रोहित पौडेल हुन्।
आश्विन्स मेडिकल कलेज एवं हस्पिटल प्रालि (नेपाल मेडिसिटी)का मालिक उपेन्द्र महतोको समूहले एनपिएलमा खरिद गरेको टिम काठमाडौं गुर्खाज हो। काठमाडौं गुर्खाज टिमका मालिक कान्तिपुर पब्लिकेसनका कैलाश सिरोहिया, उपेन्द्र महतो र अरुण सराफ रहेपनि ७० प्रतिशत लगानी नेपाल मेडिसिटीका प्रमुख उपेन्द्र महतोको रहेको पाइन्छ। उक्त समूहले काठमाडौं गुर्खाज टिमलाई ३ करोड ३३ लाखभन्दा बढी रकम खर्च गरेर खरिद गरेको हो। काठमाडौं गुर्खाजका मार्की खेलाडी करण केसी हुन्।

एमएडी ड्रीम्सका मालिक पारस लुनियाँ विराटनगर किंग्स खरिद गरेका हुन्। पोखरा एभेन्जर्स नेपाल टी–ट्वान्टी क्रिकेट लिमिटेडले खरिद गरेको थियो। जनकपुर बोल्ट्स भने ड्रीम स्पोर्ट्स कम्पनीका मालिक अमित श्रेष्ठले खरिद गरेका हुन्।कर्णाली याक्स टिमका मालिक हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्सका झनकदत्त खनाल र ग्रिहेन्द्र घिमिरे हुन्। एम्पायर स्पोर्ट्सका प्रताप शाहले सुदूरपश्चिम रोयल्स टिम खरिद गरेका हुन्।
मेडिकल व्यवसायीहरुको एनपिएलमा ह्वात्तै आकर्षक बढेको देखिन्छ। मेडिकल व्यवसायीहरू एनपिएलको टिम खरिद गर्न यसैगरी लागिपर्ने हो भने आगामी दिनमा क्रिकेट मैदानमा खेलाडीको होइन मेडिकल व्यवसायीहरूको प्रतिष्ठानको लडाईं हुने देखिन्छ। अन्य मेडिकल कलेजका सञ्चालकहरू पनि एनपिएलको टिम खरिदमा चासो राख्न थालेका छन्। स्वास्थ्य व्यवसायी एनपिएल टिम खरिद गर्न सक्रिय हुँदा सबै टिम विस्तारै मेडिकल व्यवसायीको कब्जामा पुग्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार, सार्वजनिक सरोकारट्याग : #काठमाडौं गुर्खाज डा. उपेन्द्र महतो, #चितवन राइनोज हरिश न्यौपाने, #नेपाल प्रिमियर लिग (एनपिएल), #लुम्बिनी लायन्स फरच्युना हेल्थ केयर प्रालि
तपाईको प्रतिक्रिया दिनुहोस