परराष्ट्र सचिवलाई जगेडामा तानेर कायममुकायम लिएर चीन भ्रमणमा पुगेका प्रधानमन्त्री ओली


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सोमबारदेखि ४ दिने औपचारिक चीन भ्रमणमा रहेका छन्। उनी बिहीबार (भोलि)मात्र स्वदेश फर्किने कार्यक्रम छन्। प्रधानमन्त्री ओलीले चीन भ्रमणमा अमृतबहादुर राईलाई कायममुकायम परराष्ट्र सचिव बनाएर सँगै लिएर गएका छन्। बहालवाला परराष्ट्र सचिव सेवा लम्साललाई परराष्ट्र मन्त्रालयको जगेडामा थन्क्याएर कायममुकायम दिएका राईले प्रधानमन्त्री ओलीले चीन लिएर गएका हुन्। प्रधानमन्त्रीको उपस्थितिमा चीनसँग भएको सम्झौतामा उनै कायममुकायम परराष्ट्र सचिव राईले हस्ताक्षर गरेका थिए।

गणतन्त्र आएपछि बहालवाला परराष्ट्र सचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर कायममुकायम बनाउने काम पहिलोपटक भएको छ। केपी ओली नेतृत्वको सरकारले नै परराष्ट्र सचिव शंकरदास बैरागी खनाललाई मुख्यसचिव बनाएको थियो। मुख्यसचिव हुँदा बैरागीले आफ्नो स्वार्थमा कर्मचारी प्रशासनलाई धेरै गिजोलेको आरोप छ। दुर्गम भनेकै सिंहदरबारमा बसेर जागिर खाएका परराष्ट्र सेवाका बैरागी मुख्यसचिव बन्दा तल्लो तहका कर्मचारीले अभिभावक पाउन नसकेको टिप्पणी हुँदै आएको छ। अहिले पनि परराष्ट्रमा बहालवाला सचिवलाई जगेडामा तानेर कायममुकायम बनाइ विकृत अभ्यास सुरु गरिएको हो।

परराष्ट्र सचिव लम्साललाई बेल्जियमको राजदूतमा नियुक्त गरेर राईलाई सचिवमा बढुवा गरेर चीन लिएर गएको भए त्यो प्राकृतिक हुन्थ्यो। तर, उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेर राईलाई कायममुकायम दिनुले परराष्ट्रमा गलत अभ्यास सुरु भएको सरोकारवालाहरुको टिप्पणी र चिन्ता छ। लम्साललाई हटाएर राईलाई कायममुकायम सचिव दिनु चीन भ्रमण कै लागि थियो भन्ने प्रस्ट देखिन्छ। सरकारको यो कदमले सकारात्मक सन्देश भने दिएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ