वाइडबडी विमान घोटालामा घुस लेनदेनको अनुसन्धान गर्न अख्तियारलाई विशेषको निर्देशन


काठमाडौं। विशेष अदालतले वाइडबडी विमान घोटालामा घुस लेनदेनको अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबडी विमान खरिद भ्रष्टाचारमा भ्रष्टाचारमा बिचौलिया दीपक शर्मालाई दोषी ठहर गर्दै घुस लेनदेनमा अनुसन्धान गर्न अख्तियारलाई निर्देशन दिएको हो।

घुस लेनदेनको सम्बन्धमा तत्काल छुटै अनुसन्धान गरी आवश्यक कारबाही बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने विशेषको संक्षिप्त फैसलामा उल्लेख छ।

‘प्रस्तुत मुद्दाको बहसका क्रममा न्यायाधिवक्ताबाट यस मुद्दाका प्रतिवादी दिपक शर्माले अमेरिकाको कोलम्बिया जिल्लाको डिर्पार्टमेण्ट अफ जस्टिसमा अनुसन्धान भएको united states v. Deepak Shrma भएको मुद्दामा गरिएको सौदाबाजीको सम्झौता (plea bargaining agreement )को प्रिण्ट प्रति पेश गरेको तथा सो सम्बन्धमा इजलासबाट अध्ययन गर्दा सम्बन्धित मुद्दाको तथ्य सम्बन्धी सूचना समेत ( वेबसाइटमा)मा राखिएको पाइन्छ। उक्त दस्तावेजमा निज दिपक शर्मा उपर एएआर कर्पले निगमसँग दुईवटा वाइडबडी विमान खरिद सम्बन्धी बोलपत्र प्राप्त गर्न निगमका अधिकारीलाई रिसवत दिएको कसूरको आरोप लगाइएकोमा निज प्रतिवादीले उक्त आरोपलाई उल्लिखित सौदाबाजी सम्झौतामा २०२४ जुलाई १७ मा हस्ताक्षर गरी स्वीकार गरेको देखिन्छ। सो सम्बन्धमा तत्काल छुटै अनुसन्धान गरी आवश्यक कारबाही बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने समेत ठर्हछ।’, विशेषको संक्षिप्त फैसलामा भनिएको छ। विशेषको फैसलासँग वाइडबडी घोटालामा घुस लेनदेनको अर्को मुद्दा समेत दायर हुने सम्भावना देखिन्छ।

उक्त फैसलामा विशेष अदालतले वाइडबडी विमान खरिद घोटालामा पूर्व अर्थसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकरप्रसाद अधिकारी, नेपाल बायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई दोषी ठहर गरेको छ। विशेष अदालतले बिहीबार वाइडबडी विमान खरिद घोटालामा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै ४ जनाबाटै दामासाहीले बिगो असुल हुने फैसला गरेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले वाइडबडीमा ४ जनालाई भ्रष्टाचारी ठहर गर्दै अरुलाई सफाइ दिएको छ। दुई वटा वाइडबडी विमान खरिदमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष शंकर अधिकारी, सञ्चालक समितिका सदस्यद्वय शिशिरकुमार ढुंगाना र बुद्धिसागर लामिछाने, महाप्रबन्धक सुगतरत्न कंसाकार दोषी ठहर गर्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीलगायत अन्य नेपाली प्रतिवादीलाई सफाइ दिएको हो।

भ्रष्टाचारी ठहर भएका नेपाल वायु सेवा निगमका तत्कालीन अध्यक्ष एवं तत्कालिन पर्यटन सचिव अधिकारीलाई कैद १ वर्ष ९ महिना कैद हुने विशेषको फैसला छ। ढुंगाना र लामिछानेलाई पनि १ वर्ष ९ महिना कैद तोकिएको हो।विशेष अदालतले तत्कालीन महाप्रबन्धक कंसाकारलाई भने कैद २ वर्ष ६ महिना कैद हुने फैसला गरेको छ। तर उनको उमेरका कारण आधा मिनाह हुने भएको हो।

वाइडबडी खरिदका मुख्य बिचौलिया एएआर कर्पका दीपक शर्मासहित ६ जना विदेशी पनि दोषी ठहर भएका छन्। २ जना विदेशी र ४ जनाबाहेक अन्य नेपाली प्रतिवादीलाई भने विशेष अदालतले सफाइ दिएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ