स्वास्थ्य सचिव डा. पोखरेल अवकाशको मुखमा, बागमतीका स्वास्थ्य सचिव खड्का घर गोइसके
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य हेर्ने सचिव डा. रोशन पोखरेल अवकाशको मुखमा रहेका छन्। विशिष्ट श्रेणीको पाँच वर्षे सेवा अवधिका कारण सचिव पोखरेल फागुन १२ गते अवकाशमा जाँदैछन्। अहिले जेलमा रहेका निलम्बित सचिव ( पूर्व गृहसचिव) टेकनारायण पाण्डे पनि सचिवको ५ वर्षे सेवा अवधिका कारण फागुन १२ गते पोखरेलसँगै अवकाशमा जाँदैछन्।
२०२९ साल असोज २४ गते जन्मिएका स्वास्थ्य सचिव पोखरेलले ५२ वर्षमै सरकारी सेवाबाट बिदा हुने भएका छन्। २०७८ साल साउन ४ गते सचिव बनेका पोखरेल प्रमुख विशेषज्ञ (बाह्रौं तह)को पनि सेवा अवधि जोडिँदा फागुनमा घर जान लागेका हुन्। स्वास्थ्य सेवामा ६० वर्षसम्म जागिर खान पाउने भएपनि पोखरेल ४७ वर्षको उमेरमै बाह्रौं तहमा बढुवा भएकाले ५२ वर्षमै सरकारी सेवाबाट अवकाश पाउन लागेका हुन्।
डा. पोखरेल २०७६ साल फागुन १२ गते स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ ( बाह्रौं) तहमा बढुवा भएका थिए। त्यसको डेढ वर्षपछि सचिव बनेका उनी साढे ३ वर्ष बढी स्वास्थ्य सचिवको भूमिकामा रहेर घर जान लागेका हुन्। डा. पोखरेलसँगै दिपेन्द्ररमण सिंह र महेन्द्र श्रेष्ठ बाह्रौं तहमा बढुवा भएका थिए।
बागमतीका स्वास्थ्य सचिव बद्रीबहादुर खड्का भने मंसिर ४ गते नै घर गोइसकेका छन्। ६० वर्षे उमेर हदका कारण उनले यहीँ मंसिर ४ गते सरकारी सेवाबाट अवकाश पाएका हुन्। २०२१ साल मंसिर ४ गते जन्मिएका खड्का लामो समय बागमतीको स्वास्थ्य सचिवको भूमिकामा रहेर काम गरेका थिए। नेपाल स्वास्थ्य सेवा/हेल्थ एजुकेशन समूहको अधिकृत एघारौं तहका खड्काले बागमती प्रदेशको स्वास्थ्य सचिवबाटै घर गएका हुन्। उनलाई सचिवबाट हटाउँदा अदालतको आदेश ल्याएर समेत छाडेनन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीकी स्वास्थ्य सेवाको एघारौँ तह प्रमुख कन्सल्टेन्ट बालरोग विशेषज्ञ कल्पना उपाध्याय (सुवेदी) शनिबारबाट अवकाशमा जाँदैछिन्। ६० वर्षे उमेर हदका कारण उनी सरकारी सेवाबाट अवकाश भएकी हुन्। कल्पना २०२१ मंसिर २३ गते जन्मिएकी हुन्। स्वास्थ्य सेवाका एघारौं तहका डम्बर खड्काले समेत ६० वर्षे उमेर हदका कारण अवकाश पाइसकेका छन्। अब एघारौं तहका जनार्दन पन्थी पनि अवकाशको मुखमा छन्।
२०२२ साल बैशाख १ गते जन्मिएका पन्थी आगामी बैशाख १ गते ६० वर्षे उमेर हदका कारण अवकाशमा जान लागेका हुन्। स्वास्थ्य मन्त्रालयका सचिवसहित आधा दर्जन उच्च अधिकारीहरू यो आर्थिक वर्षमा सरकारी सेवाबाट घर जानेमा परेका छन्।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस