वीपी प्रतिष्ठानका रजिष्ट्रार संग्रौलाले उपकुलपति गिरीविरुद्ध स्वास्थ्यमन्त्री गुहारे
काठमाडौं। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला र उपकुलपति डा. ज्ञानेन्द्र गिरीबीचको विवाद चरम उत्कर्षमा पुगेको छ। रजिष्ट्रार संग्रौलाले उपकुलपति गिरीविरुद्ध प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई गुहारेका छन्। प्रतिष्ठानको मुल कोष तथा कार्य संचालन खाता चलाउन निर्देशन दिन अनुरोध गर्दै रजिष्ट्रार संग्रौलाले उपकुलपति डा. गिरीविरुद्ध स्वास्थ्यमन्त्री गुहारेका हुन्। यसले वीपी प्रतिष्ठानभित्र ठूलो लफडा मच्चिएको छ।
उपकुलपति गिरीसँग दुई वर्ष अगाडि देखि नै मौखिक र लिखित रुपमै ‘चेक काट्ने’ अधिकार माग्दा पनि नदिएपछि रजिष्ट्रार संग्रौलाले स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेको देखिन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएर सफाई पाएका उपकुलपति गिरी र प्रतिष्ठानको स्रोत साधनको चरम दुरुपयोग गरिरहेका रजिष्ट्रार संग्रौलाको झगडा स्वास्थ्य तन्किएर स्वास्थ्य मन्त्रालयसम्म पुगेको छ। उपकुलपतिले चेकमा हस्ताक्षर गरेको र आफूलाई त्यो अधिकार नदिएको विषय खुलाएर रजिष्ट्रार संग्रौलाले स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपतिलाई पत्राचार गरेका छन्। यसले वीपी प्रतिष्ठानका उपकुलपति र रजिष्ट्रारको विवादले उग्र रुप लिएको प्रस्ट हुन्छ।
रजिष्ट्रार संग्रौलाले उपकुलपति गिरीले प्रतिष्ठानको खातामा रहेको पैसा आफैले हस्ताक्षर गरेर संघ संस्था र पार्टीलाई भुक्तानी दिएको आरोप लगाएका छन्। उक्त कुरा नियमावलीविपरीत रहेको उनको दाबी छ।
कांग्रेस नेतृ डा. डीला संग्रौला र कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की जोडबलमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार बनेका सूर्यप्रसाद संग्रौला उपकुलपति गिरीसँग लफडा गर्न तम्सिएका छन्। डीलाका श्रीमान् सूर्यको लिलाले प्रतिष्ठान अस्तव्यस्त बनेको चर्चा छ।
प्रतिष्ठानको गाडीमा डीलालाई घुमाउने र प्रतिष्ठानका सबै नियमित गतिविधिमा अड्चन थापेर प्रतिष्ठान डुब्यो भनेर बस्ने सूूर्य आफ्नो नियुक्ति भएपश्चात एकदिन पनि बजेट माग गर्न मन्त्रालय नगएको उपकुलपति निकट व्यक्तिहरु आरोप लगाउँछन्। रजिष्ट्रार सूूर्य भने उपकुलपतिमाथि दोष थोपर्दै स्वास्थ्यमन्त्री गुहार्न पुगेका छन्।
मातृशिशु भवनको भुक्तानीको कमिसन खान नपाएर प्रतिष्ठानको मुल कोष तथा कार्य संचालन खाता चलाउन निर्देशन दिन अनुरोध गर्दै रजिष्टार संग्रौलाले उपकुलपति डा. गिरीविरुद्ध स्वास्थ्यमन्त्री गुहारेको रजिष्ट्रार संग्रौलामाथि आरोप लागेको हो। वीपी प्रतिष्ठान डुबाउने खेलमा उपकुलपति र रजिष्ट्रार लागेका छन्। ‘पत्र बम’ले वीपी प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप र अनियमितता निम्त्याउने खतरा बढेको छ। यसमा रजिष्ट्रार सूर्य पनि उत्तिकै जिम्मेवार देखिन्छन्।
क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
तपाईको प्रतिक्रिया दिनुहोस