सांसद डा. महतोले सिराहामा खोले नर्सिङ कलेज


काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. वीरेन्द्रप्रसाद महतोले आफ्नो नाममा खोलिने फूलकुमारी महतो मल्टिपल हेल्थ इन्स्टिच्यूटको लागि भवन निर्माणको शिलान्यास गरेका छन् । गृहजिल्लामा रहेका महतोले आज (आइतबार) उक्त भवनको निर्माणको लागि भूमी पूजन गरेका हुन् ।

सिराहा कर्जन्हा नगरपालिका वडा नम्बर ११ मा पर्ने कर्जन्हा बजारमा निर्माण हुने उक्त इन्स्टिच्यूटमा पिसिएल नर्सिङ, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन डेन्टल साईन्स र डिप्लोमा इन जनरल मेडिसिन पढाई हुनेछ । आफ्नो क्षेत्रका विद्यार्थीहरुलाई नर्सिङ, डेन्टल र जनरल मेडिसिनलगायतका विद्यामा अध्ययन गर्न काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्जजस्ता ठूला र टाढाको शहर धाउन नपरोस भन्ने हेतुले आफूहरुले आफ्नै जन्मस्थानमा मल्टिपल हेल्थ इन्स्टिच्यूट खोल्न लागेको डा. महतोले जानकारी दिए ।

उनले आफ्नो क्षेत्रको विकासको लागि आफूले कुनै कसर बाँकी नराख्नेपनि विश्वास दिलाए । सो क्षेत्रको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आफ्नो सुरुवातदेखि नै ध्यान गएको र सोहीअनुसार काम थालिएको उनको भनाई थियो । गृहजिल्लामा रहेका महतोको व्यस्तता बढ्दो छ । हिजोमात्रै उनले विभिन्न सडक परियोजनाको शिलान्यास गरेका थिए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ