पूर्वप्रमुख सिंहको पार्थिव शरीरमा महानगरपालिकाका प्रमुख शाह र उपप्रमुख डंगोलबाट श्रद्धाञ्जली अर्पण
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाका पूर्वप्रमुख पिएल सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। सोमबार बिहान चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै उहाँहरुले पूर्व प्रमुखको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिजनमा समवेदना प्रकट गरे। उनीहरुसँगै प्रवक्ता नविन मानन्धर, विषयगत समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरु र कर्मचारीहरुले पुष्पगुच्छा अर्पण गरेका थिए।
पूर्वप्रमुख सिंहको ८८ वर्षको उमेरमा सोमबार बिहान निधन भएको हो। पछिल्लो समय उपचारसँगै उनले ठमेल चाक्सीबारी निवासमा आराम गर्दै आएका थिए। पेटमा अल्सर भएपछि गएको वर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
वि. सं. १९९६ चैत ११ गते जन्मिएका सिंह २०४९ सालमा भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाका प्रमुखका रुपमा निर्वाचित भएका थियो। उनकै कार्यकाल २०५२ साल मंसिर २९ गते नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको हो । सिंहले राजनीतिक र सामाजिक जीवनबाट रुपान्तरणका लागि गर्नुभएको योगदानको सम्मान गर्दै काठमाडौँ महानगरपालिकाले आज शोक विदा दिएको छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस