थारू आयोगको सदस्य मोदीमाथि अमेरिकी पिआरको आरोप


काठमाडौं। थारू आयोगको सदस्य शान्ता मोदीमाथि अमेरिकी पिआर रहेको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा उनीविरुद्ध पिआरको विषयमा उजुरी परेको छ। मोदीले भने सचिवालय मार्फत अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन र थारू आयोग ऐन अनुसार राष्ट्रिय सतर्कता केन्द्रलाई आफूविरुद्धको छानबिन गर्ने क्षेत्राधिकार नरहेको जवाफ पठाएकी छिन्।

आफू संवैधानिक आयोगको पदाधिकारी भएकाले राष्ट्रिय सतर्कता केन्द्रसँग आफूमाथि छानबिन गर्ने क्षेत्राधिकार नरहेको सदस्य मोदीको प्रतिक्रिया छ। राष्ट्रिय सतर्कता केन्द्रको क्षेत्राधिकारभित्र नपर्ने भएकाले उजुरी ग्रहण गर्ने, प्रतिक्रियासहितको जवाफ माग्न पत्र लेख्ने कार्य असंवैधानिक र गैरकानुनी र अनुचित कार्य रहेको मोदीकी निजी सहायक गिता चौधरीले उनको आदेशानुसार पठाएको पत्रमा उल्लेख छ।

थारू आयोगको सदस्य रहेकी मोदी पटक-पटक अमेरिका जाने गरेको र उनीसँग पिआर रहेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमा उजुरी परेको छ। त्यो विषयमा जवाफ माग्दा सदस्य मोदीले चेतावनी कै शैलीमा ती निकायहरूलाई सचिवालय मार्फत जवाफ पठाएको पाइन्छ। 

मोदीले सचिवालय मार्फत पठाएको पत्रमा भनिएको छ, ‘म यस थारू आयोगको सदस्य रहेको र यस आयोगका सदस्यहरूको नियुक्ति संवैधानिक परिषद्बाट भई संवैधानिक आयोगका पदाधिकारी उपरको उजुरी उपर प्रतिक्रिया माग गर्न त्यहाँको कार्यालयले नेपालको संविधानको धारा १०१ र थारू आयोग ऐन, २०७४ को दफा ४ को देहाय (घ) अनुसार नमिल्ने हुँदा सोही बमोजिमको व्यहोरा पुनः जानकारी गराउँछु।’, मोदीको उक्त पत्र स्वास्थ्य लाइभसँग सुरक्षित छ। मोदीविरुद्ध परेको उजुरीमा भने उनी थारू आयोगको सहस्यमा नियुक्तिका लागि योग्य नरहेको दाबी गरिएको छ।

अमेरिकी पिआर रहेको विषयमा स्वास्थ्य लाइभले थारू आयोगको सदस्य मोदीसँग प्रतिक्रिया माग्दा आफूसँग पिआर नरहेको दाबी गरिन्। आफ्नो श्रीमान् र छोरा अमेरिकामा रहेकाले आफू अमेरिका जाने गरेको सदस्य मोदीको प्रतिक्रिया छ। 

आफूसँग पिआर नभएको दाबी गर्दै मोदीले आफूविरुद्ध महाभियोग र अदालतमा रिट हालेर हटाउन चुनौती दिइन्। उनले अख्तियार र राष्ट्रिय सतर्कता केन्द्रलाई आफूविरुद्ध छानबिन गर्ने अधिकार नरहेको दोहोऱ्याइन्। श्रीमानले अमेरिका गएर आफ्नो परिवार पालेको भन्दै मोदीले १० वर्षको छोरा अमेरिकामा लिएर छोरा १३ वर्षको भएपछि नेपाल फर्किएको उनले सुनाइन्। एउटा थारूको छोरीले गरेको संघर्ष राज्य र समाजले नदेखेको सदस्य मोदीको गुनासो छ। 

‘मेरो संघर्षको कथा शान्ता चौधरीकोभन्दा बढी छ। त्यो विषय खोज्नुस् न के को पिआरको पछाडि लाग्नु भएको छ। एउटा उत्पिडित महिलाले जिम्मेवारी पाउँदा किन खेदिन्छ मैले बुझ्न सकिरहेको छैन।’, सदस्य मोदीले भनिन्। मोदीको प्रतिक्रियामा जवाफदेहिताभन्दा आक्रोश बढी रहेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #अमेरिकी पिआर, #थारु आयोग, #शान्ता मोदी, #शान्ता मोदी थारू आयोग सदस्य

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ