वीपी प्रतिष्ठानमा उपकुलपति-रजिष्ट्रारबीच लफडा

आफूविरुद्ध स्वास्थ्यमन्त्री गुहारेपछि रजिष्ट्रार संग्रौलासँग उपकुलपति गिरी रुष्ट, उपकुलपतिले रजिष्ट्रारलाई सचेत गराए


काठमाडौं। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद संग्रौला र उपकुलपति डा. ज्ञानेन्द्र गिरीबीचको विवाद उग्र रुप लिँदै गएको छ। रजिष्ट्रार संग्रौलाले उपकुलपति गिरीविरुद्ध प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई गुहारेपछि उपकुलपति गिरीले रजिष्ट्रार संग्रौलालाई सचेत गराएका छन्। कानुनी व्यवस्थाविपरीत हुने गरी आफूभन्दा माथिल्लो निकाय वा अधिकारीको अधिकारक्षेत्रमा हस्तक्षेप गरी गरिएको पत्राचार कामकारबाहीबाट रजिष्ट्रार संग्रौलाले आफ्नो पदीय कर्तव्य एवं दायित्वबाट बिमुख स्पष्ट पुष्टि भएको भन्दै उपकुलपति गिरीले अब उप्रान्त यस्ता कामकारबाही नगर्न/नगराउन रजिष्ट्रार संग्रौलालाई निर्देशन दिएका छन्।

रजिष्ट्रार संग्रौलाले प्रतिष्ठानको मुल कोष तथा कार्य संचालन खाता चलाउन निर्देशन दिन अनुरोध गर्दै उपकुलपति डा. गिरीविरुद्ध सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई गुहारेका थिए। यसले वीपी प्रतिष्ठानभित्र ठूलो लफडा मच्चिएको छ। उक्त विषयलाई लिएर उपकुलपति गिरीले रजिष्ट्रार संग्रौलालाई सचेत गराएको पाइन्छ।

रजिष्ट्रार संग्रौलालाई प्रतिष्ठानको ऐन, नियम बमोजिम कार्यकारिणी समिति र उपकुलपतिलाई प्राप्त अधिकार क्षेत्रमा सोझै हस्तक्षेप हुने गरी सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमक्ष पत्राचार गर्ने अधिकार नभएको स्मरण गराउँदै उपकुलपति गिरीले उक्त विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उपकुलपति गिरी रजिष्ट्रार संग्रौलासँग रुष्ट मात्र भएका छैनन् त्यस्तो कार्य नगर्न लिखित सचेत समेत गराएका छन्। यसले वीपी प्रतिष्ठानमा उपकुलपति र रजिष्ट्रारबीच थप द्वन्द्व सिर्जना भएको छ।

उपकुलपति गिरीसँग दुई वर्ष अगाडि देखि नै मौखिक र लिखित रुपमै ‘चेक काट्ने’ अधिकार माग्दा पनि नदिएपछि रजिष्ट्रार संग्रौलाले स्वास्थ्यमन्त्रीलाई पत्राचार गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएर सफाई पाएका उपकुलपति गिरी र प्रतिष्ठानको स्रोत साधनको चरम दुरुपयोग गरिरहेका रजिष्ट्रार संग्रौलाको झगडा स्वास्थ्य तन्किएर स्वास्थ्य मन्त्रालयसम्म पुगेको पाइन्छ। उपकुलपतिले चेकमा हस्ताक्षर गरेको र आफूलाई त्यो अधिकार नदिएको विषय खुलाएर रजिष्ट्रार संग्रौलाले स्वास्थ्यमन्त्री एवं प्रतिष्ठानका सहकुलपतिलाई पत्राचार गरेका थिए। उक्त पत्र लेखेको विषयमा उपकुलपति गिरीले र रजिष्ट्रारको संग्रौलालाई त्यस्तो कार्य नगर्न निर्देशन दिएकाे खुल्न आएको छ।

रजिष्ट्रार संग्रौलाले उपकुलपति गिरीले प्रतिष्ठानको खातामा रहेको पैसा आफैले हस्ताक्षर गरेर संघ संस्था र पार्टीलाई भुक्तानी दिएको आरोप लगाएका छन्। उक्त कुरा नियमावलीविपरीत रहेको उनको दाबी छ। तर, उपकुलपति गिरीले नियम, कानुन बमोजिम नै काम गरिरहेको उल्लेख गरेका छन्।

रजिष्ट्रार सूर्यप्रसाद संग्रौला कांग्रेस नेतृ डा. डीला पन्त (संग्रौला)का श्रीमान् हुन्। त्यहिँ शक्तिका आडमा उनी उपकुलपति गिरीसँग लफडा गर्न तम्सिएको आरोप लाग्दै आएको छ। डीलाका श्रीमान् सूर्यको लिलाले प्रतिष्ठान अस्तव्यस्त बनेको चर्चा सुनिन्छ। उपकुलपति गिरीले रजिष्ट्रार संग्रौलालाई सचेत गराएपछि उपकुलपति-रजिष्ट्रारबीचको विवाद अर्को चरणमा प्रवेश गरेको हो।

 

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## उपकुलपति ज्ञानेन्द्र गिरी, #डा. डिला संग्रौला, #रजिष्ट्रार सूर्यप्रसाद संग्रौला, #वीपी प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौला सं, #स्वास्थ्यमन्त्री प्रदिप पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ