प्रधानमन्त्री मन्त्रीहरूसँग असन्तुष्ट, मन्त्री-सचिवबीच छैन सौहार्दपूर्ण सम्बन्ध
समाचार टिप्पणी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठकमै मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। मन्त्रिपरिषद्को बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्री र मन्त्रालयको कामप्रति असन्तुष्टि जनाएका हुन्।
प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि नै मन्त्रिमण्डल हेरफेरको तयारीमा थिए। तर सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ‘ग्रिन सिग्नल’ नपाउँदा उनको योजना सफल हुन सकेन। अहिले फेरि मन्त्रिमण्डल हेरफेरको ‘मुड’मा रहेका प्रधानमन्त्री ओली आफैं फेरिने हुन कि मन्त्री फेर्ने हुन् त्यो भने हेर्न बाँकी नै छ।
प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच त्यति सौहार्दपूर्ण सम्बन्ध नरहेको चर्चा छ। नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई स्थापित गराउने अभियानमा लागेका अर्थमन्त्री पौडेलसँग प्रधानमन्त्री ओली रुष्ट रहेको बताइन्छ। उस्तै परे कांग्रेससँग आफ्नो भागमा रहेको अर्थ मन्त्रालयसँग गृह मन्त्रालय साटेर अर्थ र गृहका दुबै मन्त्री आउँट गर्ने दाउमा ओली रहेको बुझिन्छ। त्यसैले अर्थमन्त्रीमा गगनकुमार थापाको नाम पनि चर्चामा आउन थालेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीको मन्त्री फेर्ने लिस्टमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्का लगायतकाका आधा दर्जन बढी मन्त्री रहेका छन्। त्यसो त भूमि व्यवस्थामन्त्री अधिकारी र सचिव अर्जुनप्रसाद पोखरेलबीच पनि त्यति सौहार्दपूर्ण सम्बन्ध पाइँदैन। आगामी वैशाखमा घर जान लागेका सचिव पोखरेल मन्त्री अधिकारीले अह्राएको काम छल्न बिरामीको बहाना बनाएर मन्त्रालय कमै आउँछन्। मन्त्री निकट स्रोतका अनुसार सचिव र मन्त्रीको ‘ट्युनिङ’ मिलेको छैन। पछिल्लो समय सचिव पोखरेल मन्त्रालयमा बिरलै भेटिन्छन्। मन्त्रीको ‘स्पिरिट’ अनुसार सचिवले काम गर्न छाडेको मन्त्री निकट अधिकारीहरुको दाबी छ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीको सम्बन्ध पनि सुमधुर नरहेको मन्त्रालय स्रोतले बतायो। मन्त्री गुप्ता र सचिव सुवेदीबीच सौहार्दपूर्ण सम्बन्ध हुन नसकेपछि सचिव सुवेदीले आफू भावी मुख्यसचिव रहेको भन्दै कर्मचारीबाट काम लिने गरेका छन्। सामान्य प्रशासन मन्त्रालयका उच्च अधिकारीहरुका अनुसार मन्त्रीले भनेको काम सचिवले र सचिवले भनेको काम मन्त्रीले ‘इग्नोर’ गर्ने अवस्था रहेको छ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा र सचिव सेवा लम्सालबीचको सम्बन्ध पनि त्यति सुमधुर हुन सकेन। सचिव लम्साललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएर कायममुकाय सचिवको जिम्मेवारी अमृतबहादुर राईलाई दिइयो। यो काम मन्त्री कै चाहना अनुसार भएको परराष्ट्रका अधिकारीहरु बताउँछन्।
यी त केही उदाहरण मात्र भए अधिकांश मन्त्रालयमा सचिव र मन्त्रीबीच ट्युनिङ नमिलेको देखिन्छ। हटाउने चर्चामा रहेका मन्त्रीलाई सचिवले टेर्न छाडेका छन्। सचिवलाई मन्त्रीले हटाउन लागिपरेका छन्। मन्त्री कहिले हट्छन् भनेर सचिव हिँड्न थालेका छन्। दुईवटा सचिव भएका मन्त्रालयमा मन्त्रीले खेल्ने मौका पाएका हुन्। एउटा सचिवले नमाने अर्कोबाट काम निकाल्न थालेका छन्। एउटा मात्र सचिव भएका मन्त्रालयमा भने मन्त्री र सचिवबीच सौहार्दपूर्ण सम्बन्ध नहुँदा सोचे अनुरूप नजिता निस्कन सकेको छैन। यसले प्रधानमन्त्री नै असन्तुष्टि हुनुपर्ने अवस्था आएको छ। सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको देखिँदैन। मुख्यसचिव निर्देशन दिनमै सीमित छन्। सरकारप्रति जनताको असन्तुष्टि असीमित बन्दै गएको पाइन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस