वीपी प्रतिष्ठानमा शिशु मृत्यु प्रकरण: अधिवक्ता कार्कीको संयोजकत्वमा छानबिन समिति गठन


काठमाडौं। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिशु मृत्युको घटना लाई लिएर छानबिन समिति गठन भएको छ। उक्त घटनाको छानबिन गर्न अधिवक्ता लावन्यराज कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।

शनिबार सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उदयपुरको बेलका नगरपालिकाका १५ महिने शिशुको मृत्यको प्रकरणको अधिवक्ता कार्कीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भएको हो। कार्कीको संयोजकत्वमा गठित छानबिन समितिको सदस्यमा ज्ञानेन्द्र खड्का, अम्बिका निरौला, डा. किशोर श्रेष्ठ, डा. अभिजित कुमार, डा. श्याम काफ्ले र कला थापा सदस्य छन्। पन्ध्र दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन दिने गरी उक्त छानबिन  समिति गठन गरिएको हो।

‘मिति २०८१/०९/०६ गते जिल्ला उदयपुर, बेलका नगरपालिका वडा नम्बर ९ बस्ने मोहन खड्काको छोरा आरोह खड्काको प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको र अस्पतालको चिकित्सकद्वारा लापरबाहीको कारण मेरो बच्चा मृत्यु भएको भनि गुनासो आएको सन्दर्भमा छानबिन गरी सत्यतथ्यसहितको प्रतिवेदन पन्ध्र दिनभित्र पेश गर्न तपाईंको संयोजकत्वमा निम्नानुसारको समिति गठन गरिएको व्यहोरा जानकारी गराइन्छ।’, छानबिन समितिमा रहेका सदस्यको नाम उल्लेख गर्दै उपकुलपति डा. ज्ञानेन्द्र गिरीले संयोजक कार्कीलाई दिएको जानकारी पत्रमा भनिएको छ।

प्रतिष्ठानमा भएको सर्वपक्षीय बैठकले कार्कीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने समिति गठन गर्ने निर्णय भएको थियो। प्रतिवेदन प्राप्त भएपछि दोषी उपर कारबाही हुने समेत सहमति भएको थियो। त्यसै अनुसार समितिले छानबिन प्रक्रिया सुरु गरेको छ।

बेलकाका खड्कालाई झाडापखालाको समस्या देखिएपछि उपचारका लागि वीपी प्रतिष्ठान ल्याइएको थियो। उपचार कै क्रममा उनको मृत्यु भएपछि परिवारले डाक्टरको लापरबाहीका कारण भएको आरोप लगाउँदै आन्दोलन सुरु गरेको थियो। उक्त कुराको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन भएको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ