सचिव बढुवामा दोस्रोपटक पनि अन्यायमा परे सहसचिव मिश्र
काठमाडौं। मंगलबार बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले प्राविधिक सहसचिव मधुप्रसाद भेटुवाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सरकारले प्राविधिक तर्फका वरिष्ठ सहसचिव दिनानाथ मिश्रलाई अन्याय गर्दै भेटुवाललाई सचिव बढुवा गर्ने निर्णय गरेको हो।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले प्राविधि सचिव बढुवाका लागि पहिलो नम्बरमा सहसचिव मिश्र, दोस्रोमा भेटुवाल र तेस्रोमा चिरञ्जीवी चटौतको नाम सिफारिस गरेको थिए। तर, सरकारले पहिलो नम्बरमा सिफारिस भएका मिश्रलाई अन्याय गर्दै दोस्रो नम्बरमा सिफारिस भएका भेटुवाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मिश्रलाई अन्याय गरेको यो पहिलोपटक भने होइन। यस अघि पनि पहिलो नम्बरमा सिफारिस भएका मिश्रलाई सचिवमा बढुवा नगरी दोस्रो नम्बरका डा. रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको थियो। अहिले पनि दोस्रो नम्बरमा सिफारिस भएका सहसचिव भेटुवाललाई बढुवा गरेर मिश्रलाई सरकारले हेरेको हेरै पार्दिएको छ। आफूभन्दा पछि सिफारिस भएर १५ दिने सचिवमा बढुवा भएका घिमिरेको ठाउँ खाली हुँदा पनि मिश्र सचिव बन्नबाट बञ्चित भएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत सहसचिव मिश्र साढे दुई जति सरकारी सेवामा रहन्छन्। मिश्र भेटुवाल ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि मात्र सचिवमा बढुवा हुन पाउँछन्। भेटुवाल २०८२ जेठ ५ गतेसम्म सचिवको भूमिकामा रहन्छन्।त्यसपछि बढुवा हुँदा ५८ वर्षे उमेर हदका कारण मिश्रले दुई वर्ष पनि सचिव चलाउन पाउँदैनन्। सरकारले ५ महिना पनि सचिव चलाउन नपाउने भेटुवाललाई बढुवा गरेर वरिष्ठ सहसचिव मिश्रलाई अन्याय गरेको हो। मुख्यसचिव र सचिव बढुवामा ओली सरकारले वरिष्ठताको हुर्मत लिँदै आएको छ। त्यसको शिकार मिश्र पनि भएका छन्।
क्याटेगोरी : समाचारट्याग : #चिरञ्जीवी चटौत, #डा. रामप्रसाद घिमिरे प्राविधिक सचिव, #दिनानाथ मिश्र, #प्राविधिक सहसचिव, #मधुप्रसाद भेटुवाल
तपाईको प्रतिक्रिया दिनुहोस