महानगरद्वारा कान्तिपुर मिट हाउसमा म्याद नागेको मासु नष्ट


काठमाडौँ। काठमाडौँ महानगरपालिका वडा नं. ११ बबरमहलस्थित कान्तिपुर मिट हाउसमा म्याद नागेको मासु र ससेज फेला परेको छ। कृषि तथा पशुपंक्षी विभाग र वडाका जनप्रतिनिधिहरूसहितको अनुगमन टोलीले फ्रीजरमा भण्डारण गरिएका १४ प्याकेट म्याद नागेका ससेज र लगभग ६० केजी बिग्रेको मासु बरामद गरी त्यहीँ स्थानमा नष्ट गरेको हो।

अनुगमन टोलीमा कृषि तथा पशुपंक्षी विभागका खाद्य प्रविधिज्ञ अनिल बस्नेत र अशोक पराजुली तथा वडा नं. ११ का वडा सदस्य दीपेश राउत सहभागी थिए। टोलीले मासु फेला परेपछि पसल संचालकलाई खाद्य स्वच्छतामा ध्यान दिनुपर्ने स्पष्ट निर्देशन दिएको छ। अनुगमन टोलीले बिग्रिएको मासु बिक्री गर्दा जनस्वास्थ्यमा गम्भीर असर पर्ने चेतावनी दिँदै, भविष्यमा यस्ता कार्य दोहोर्‍याए कानूनी कारबाही गरिने चेतावनी पनि दिएको हो।

कृषि तथा पशुपंक्षी विभागले खाद्य सुरक्षाको महत्वलाई ध्यानमा राख्दै उपभोक्ताहरूलाई सचेत रहन र कुनै समस्या भए काठमाडौँ महानगरपालिकाको कल सेन्टर निःशुल्क नम्बर ११८० मा सम्पर्क गर्न आग्रह गरेको छ।

निर्देशनहरू:

१. व्यवसाय तत्काल वडा कार्यालयमा गएर नवीकरण गर्ने।

२. काठमाडौँ महानगरपालिकाको कार्यालयमा लिखित स्पष्टीकरणसहित उपस्थित हुने।

३. बिग्रेको वा म्याद नागेको खाद्य सामग्री बिक्री नगर्ने/नगराउने।

४. सरसफाइमा विशेष ध्यान दिने।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ