कानुनलाई चुनौती दिँदै डाक्टरको नजिर देखाएर अदालत पुगेका उपसचिव डा. मैनालीलाई झड्का


काठमाडौं। सहसचिवमा बढुवाका लागि उच्च अदालत, पाटन पुगेका राजस्व समूहका उपसचिव डा. रामप्रसाद मैनालीलाई झड्का लागेको छ। सहसचिव बढुवाका लागि डा. सन्तोष पौडेल र डा. अशेष ढुंगानाको नजिर देखाएर अदालत गएका डा. मैनालीलाई झड्का लागेको हो।

उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र दुर्गाप्रसाद ढुङ्गेलको संयुक्त इजलासले बुधबार मैनालीको रिटमा अन्तरिम आदेश जारी नहुने भनेको छ। उच्च अदालत, पाटनका सूचना अधिकारी अर्जुनप्रसाद आचार्यले मैनालीको रिटमा अन्तरिम आदेश जारी नभएको सुनाए। अल्पकालीन अन्तरिम आदेश पाएको उक्त रिटमा अन्तरिम आदेश भने जारी नभएको हो। ३ वर्ष असाधारण विदा लिएर ४ वर्षभन्दा बढी बेलायत भासिएका डा. मैनाली जेष्ठतामा असाधारण विदाको अवधि पनि गणना हुनुपर्ने मागदाबीसहित रिट निवेदन लिएर उच्च अदालत, पाटन पुगेका थिए। दुई चिकित्सकको नजिर देखाएर अदालत पुगेका उपसचिव मैनाली अन्ततः हुसिएका छन्।

बढुवा समितिको सिफारिस चित्त नबुझे त्यस उपर लोक सेवा आयोगमा उजुरी दिन पाउने बाटो हुँदाहुँदै डा. मैनाली सीधै उच्च अदालत पुगेका थिए। उच्च अदालतले झ्यालबाट छिर्न खोजेका उपसचिव मैनालीलाई ढोकातिरै फर्काइदिएको छ। कानुनले निषेध गरेको विषयमा अदालत पुगेका मैनालीको माग औचित्यहीन देखिएको छ। अदालतले यस्ता रिट दर्ता गर्नु भनेको समयको बर्वादी मात्र हो।

मैनालीको रिटमा अन्तरिम आदेश जारी नहुने भएसँगै जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा सहसचिवमा बढुवाका लागि सिफारिस भएका उपसचिवहरू पदमकुमार श्रेष्ठ, दिलिपकुमार गौतम, योगेन्द्रप्रसाद दुलाल, युवराज अधिकारी, भविश्वर पाण्डे, चन्द्रबहादुर शिवाकोटी, हेमराज भुसाल, भरत गौतम, विमलप्रसाद बराल, बलराम ढकाल, पवनकुमार तिमिल्सेना, गोविन्दप्रसाद अधिकारी, पुरुषोत्तम अधिकारी, शान्तिराज प्रसाई, नारायणप्रसाद मैनाली, विजयराज सुवेदी, चिरञ्जीवी तिम्सिना, कविन्द्र नेपाल र यमेन्द्र उपाध्यायलाई सहसचिवमा बढुवाका लागि बाटो खुला भएको छ। अहिले कै अवस्था रहिरहे ५६ वर्षीय मैनाली उपसचिवमै घर जाने स्थिति आउन सक्छ।

क्याटेगोरी : समाचार
ट्याग : #उपसचिव डा. रामप्रसाद मैनाली, #बेलायत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ