नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारले गोकर्णेश्वरका पूर्वमेयरलाई के गर्ला?
काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्लाका दुई नगरप्रमुख (मेयर)माथि भ्रष्टाचारमा विस्तृत अनुसन्धान गरेको छ। अख्तियारको विस्तृत अनुसन्धानमा काठमाडौंको नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत र गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर सन्तोष चालिसे रहेका छन्। विस्तृत अनुसन्धानमा परेका नागार्जुनका मेयर बस्नेतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। गोकर्णेश्वरका मेयर चालिसेको हकमा अख्तियारले के गर्छ हेर्न बाँकी छ।
अख्तियारले नागार्जुनका मेयर बस्नेतविरुद्ध ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस र सम्पत्ति शुद्धीकरण अन्तरगत १३ करोड १२ लाख ७३ हजार रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो। अख्तियार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेपछि बस्नेत स्वतः निलम्बित भएका छन्। नागार्जुन नगरपालिका कार्यबहाकको भरमा चलिरहेको छ।
अख्तियार उच्च स्रोतका अनुसार गोकर्णेश्वरका तत्कालीन मेयर सन्तोष चालिसेमाथि पनि गैरकानुनी सम्पत्ति आर्जन (अकुत)मा विस्तृत अनुसन्धान भइरहेको छ। चालिसेले अकुत सम्पत्ति आर्जन गरेर रिसोर्टलगायतमा लगानी गरेको आरोप समेत लागेको छ। उनी गोकर्णेश्वरको मेयर हुँदा बस्नेतले जस्तै थुप्रै बदमासी गरेको अख्तियारका अधिकारीहरू बताउँछन्। एकै समयमा विस्तृत अनुसन्धान सुरु भएको बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसक्दा चालिसेमाथि भने अख्तियारले मुद्दा चलाएको छैन। चालिसेविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर हुने प्रवल सम्भावना रहेको अख्तियारका अधिकारीहरू सुनाउँछन्।
अख्तियारको भ्रष्टाचार मुद्दा चलाएका बस्नेत दोहोऱ्याएर नागार्जुन नगरपालिकाकाे मेेयर निर्वाचित भएका थिए भने चालिसेले ‘टिकट’ नै पाएनन्। मेयरको टिकट नपाएका चालिसेलाई कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा चुनाव लडायो। उनी प्रतिनिधिसभामा निर्वाचित समेत भए। गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानमा तानिएका चालिसे अहिले प्रतिनिधिसभाको अर्थ समितिको सभापति रहेका छन्। बस्नेत जस्तै अनियमितता मुछिएका चालिसेमाथि अख्तियारले भ्रष्टाचार मुद्दा चलाउने/नचलाउने टुंगो लागिसकेको छैन। अख्तियार विस्तृत अनुसन्धानमै अल्झिएको पाइन्छ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस