डा. सिन्धु सेवा निवृत्त भएपछि जलवायु परिवर्तन महाशाखा प्रमुख को बन्ला?
काठमाडौं। वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख बन्ने सहसचिवको खोजी सुरु भएको छ। मन्त्रालयको आकर्षक मानिने जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) डा. सिन्धुप्रसाद ढुंगाना ५८ वर्षे उमेर हदका कारण सेवा निवृत्त भएपछि वनका सहसचिवबीच दौडधुप सुरु भएको हो।
कोप समेत हेर्ने र जलवायु परिवर्तन व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने उक्त महाशाखा प्रमुखका लागि आधा दर्जन सहसचिवको नाम चर्चामा छ। त्यसमध्ये डा. महेश्वर ढकाल, डा. राजेन्द्र केसी र नवराज पुडासैनीबीच बढी प्रतिस्पर्धा रहेको वन मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन्।
डा. ढकाल अहिले वन तथा वातावरण मन्त्रालय कै सहभागिता मूलक वन महाशाखा प्रमुख छन्। डा. केसी वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका महानिर्देशक हुन्। त्यस्तै पुडासैनी रेड कार्यान्वयन केन्द्रको प्रमुख र चुरे उत्थानशील आयोजना प्रमुखको दोहोरो जिम्मेवारीमा छन्।
२०२३ साल पुस ११ गते जन्मिएका डा. ढुंगाना केही दिन अगाडि ५८ वर्ष पुगेर सरकारी सेवाबाट बिदा भएपछि मन्त्रालयको महत्त्वपूर्ण मानिने जलवायु परिवर्तन व्यवस्थापन महाशाखा खाली भएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले महाशाखा प्रमुख तोक्ने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ। उक्त महाशाखामा डा. ढकाललाई पठाइने सम्भावना बढी रहेको मन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई बतायो। उनी १६ महिनादेखि मन्त्रालयको सहभागिता मूलक वन महाशाखा प्रमुखको भूमिकामा छन्। डा. ढुंगानाभन्दा अगाडि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकको भूमिकामा रहिसकेका डा. ढकाल एक स्वास्थ्य नीतिमा समेत दखल राख्दछन्।
क्याटेगोरी : समाचारट्याग : #जलवायु परिवर्तन व्यवस्थापन महाशाखा, #डा. महेश्वर ढकाल, #डा. राजेन्द्र केसी, #डा. सिन्धुप्रसाद ढुंगाना, #नवराज पुडासैनी
तपाईको प्रतिक्रिया दिनुहोस