श्रम विभागको डिजी बन्ने सहसचिव नहुँदा निमित्तको भरमा
काठमाडौं। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक (डिजी) अर्जुनप्रसाद भट्टराईले ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएका छन्। २०२३ साल पुस १० गते जन्मिएका भट्टराई यहीँ पुस ९ गते सेवा निवृत्त भएर विभागबाट बिदाइ भएका छन्। प्रशासन सेवाका सहसचिव भट्टराई सेवा निवृत्त भएसँगै श्रम विभागमा जाने अर्को सहसचिव मन्त्रालयले भेटेको छैन।
विभागको निमित्त महानिर्देशकको जिम्मेवारी अहिले विपिन राजभण्डारीले सम्हालिरहेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रशासन सेवाको सहसचिव नपठाउँदा प्राविधिक सहसचिव राजभण्डारी निमित्तको जिम्मेवारी सम्हालेका हुन्। २०७८ मा नेपाल इन्जिनियरिङ सेवा, मेकानिकल इन्जिनियरिङ समूह, जनरल मेकानिकल उपसमूह राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) मा बढुवा भएका राजभण्डारी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको उपमहानिर्देशकको भूमिकामा थिए। भट्टराईले अवकाश पाएसँगै उनले निमित्तको जिम्मेवारी सम्हाले मौका पाएका हुन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अहिले सहसचिवहरू जीवलाल भुसाल, डण्डुराज घिमिरे, प्रदिपकुमार कोइराला र निश्चलनाथ पाण्डे कार्यरत छन्। तर, ति चारैजना सहसचिव विभागको महानिर्देशक भएर जान तयार नभएको मन्त्रालय स्रोतले बतायो। मन्त्रालयमा कार्यरत सहसचिव श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको महानिर्देशक भएर जान नमानेपछि बाहिरबाट आएका सहसचिवलाई विभागको महानिर्देशक बनाएर पठाउने मन्त्री-सचिवको तयारी देखिन्छ। श्रम मन्त्रालयमा सरुवा भएर अब आउने सहसचिव नै विभागको महानिर्देशक बनेर जाने प्रवल सम्भावना छ।
क्याटेगोरी : समाचारट्याग : #अर्जुनप्रसाद भट्टराई सहसचिव (महानिर्देशक), #जीवलाल भुसाल, #निश्चलनाथ पाण्डे सहसचिव, #प्रदिपकुमार कोइराला सहसचिव, #विपिन राजभण्डारी, #श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, #श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
तपाईको प्रतिक्रिया दिनुहोस